
पर्यटकीय स्थलको प्रचारप्रसार गर्न गाउँ कार्यपालिकाको बैठक सुन दहमा आयोजना गरिएको छ । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाले पर्यटकीय स्थलको प्रचारप्रसार तथा संरक्षण गर्न सुन दहमा कार्यपालिकाको बैठक आयोजना गरेको हो । गाउँपालिकाको उच्च भाग वडा नम्बर ३ मा रहेको सुन दहलाई पर्यटन प्रर्वद्धन तथा प्रचारप्रसार गर्न कार्यपालिकाको ३१ औँ बैठक सुन दहमा आयोजना गरिएको पुथाउत्तरगंगा गाउँपालिका अध्यक्ष पुनिराज घर्तीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठक यही कात्तिक १० गते सुन दह क्षेत्रमा आयोजना गरिएको छ । सुन दहमा बैठकको लागि कार्यपालिकाको बहुमत सदस्य, पालिकामा कार्यरत कर्मचारी लगायत अन्य व्यक्तिहरू बिहीबार आज नै त्यसतर्फ प्रस्थान गरिसकेका छन् । सुन दह पुग्न पैदल यात्रा गरेर करिब ३ दिन लाग्ने अध्यक्ष घर्तीले जानकारी दिनुभयो ।
आज बिहान गाउँपालिकाबाट हिँड्नेको टोली साँझ वडा नम्बर ३ को रन्मा बास बस्नेछ । भोली रन्माबाट हिँडेको टाेली वडा नम्बर ३ कै बराजास भन्ने स्थानमा पुगेर बास बस्ने र शनिवार बिहान १० बजे पर्यटकीय स्थल सुन दहमा पुगेर कार्यपालिकाको बैठक बस्ने गाउँपालिका अध्यक्ष घर्तीले जानकारी दिनुभयो ।
बैठकमा महत्त्वपूर्ण दुई कार्यविधि पारित गरिने
पर्यटकीय स्थल सुन दहमा आयोजना गरिएको पुथाको ३१ औँ कार्यपालिकाले बैठकले दुई वटा महत्त्वपूर्ण कार्यविधि पारित गर्ने जनाएको छ । पालिका अध्यक्ष घर्तीका अनुसार सुन दह व्यवस्थापन कार्यविधि र बहुमूल्य जडीबुटी व्यवस्थापन तथा संरक्षण कार्यविधि पारित गरिनेछ । त्यसका साथै स्वास्थ्य, शिक्षा र विकास निर्माणका विषयमा पनि निर्णय गरिने छ । स्थानीय तह बनेपछि खुल्ला ठाउँ पर्यटकीय स्थलमा बैठक आयोजना गरिएको यो पहिलो पटक भएको पुथाउत्तरगंगा गाउँपालिकाले जनाएको छ ।