Kakhara सबैको खबर सम्पूर्ण खबर
बुद्धभूमि मानव सेवा आश्रमलाई छुटमा चामल 

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा सञ्चालित बुद्धभूमि मानव सेवा आश्रमलाई चामलमा छुट दिइने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ३ प्रतिशत छुट दिने भएको हो । कम्पनी र आश्रमबिच छुटको सम्झौता भएको छ ।

कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत आश्रममा आश्रित व्यक्तिहरूको खाद्य सुरक्षा प्रत्याभूतिका लागि चामलमा नियमित मूल्यमा ३ प्रतिशत छुट दिने सम्झौता भएको कम्पनीले जनाएको छ ।

आश्रमबाट माग भई आए अनुसार कम्पनीको २०८१ पुस २ गतेको निर्णयले संस्थागत खरिदकर्ताका लागि ३ प्रतिशत छुट दिन सक्ने निर्णय गरेको हुनाले उक्त निर्णयको प्रावधान अनुसार कम्पनीको जिल्ला शाखा रुकुम पश्चिमबाट छुट दिइने कम्पनीको भनाई छ ।

आश्रममा हाल ४ महिला र ४ पुरुष गरी ८ जना संरक्षण विहीन व्यक्तिहरू रहेको आश्रमका जिल्ला सहसंयोजक भिमा खड्काले जानकारी दिनुभयो । मुसिकोट १ सल्लेमा रहेको आश्रममा विशेष गरी संरक्षण विहीन बनेर सडक मानवको रूपमा रहेका व्यक्तिहरूलाई राखिएको छ ।

आश्रम सञ्चालनका लागि विभिन्न व्यक्ति तथा संस्थाहरूले सहयोग गरिरहेका छन् । जिल्ला अस्पतालले आश्रममा रहेका व्यक्तिहरूको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएको छ । 

प्रकाशित मिति: आइतबार, जेठ ५, २०८२  २०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update