-1748612332.jpeg)
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका विद्यार्थीहरूलाई वर्ष भरी पुग्ने शैक्षिक सामग्री र विद्यालय पोसाक वितरण गरिएको छ । आमा बाबु स्मृति प्रतिष्ठान छात्रवृत्ति अक्षयकोषबाट पालिकामा रहेका विपन्न, टुहुरा, सहित परिवार तथा जेहनदार विद्यार्थीहरूलाई छनोट गरेर वर्षभरिलाई पुग्ने गरी कापी, कलम, झोला र पोसाक लगायतका सामग्री वितरण गरिएको हो ।
२०७६ सालमा स्थापना भएको अक्षय कोषबाट हरेक वर्ष पालिकामा रहेका विपन्न, टुहुरा, सहित परिवार तथा जेहनदार विद्यार्थीहरूलाई छनोट गरेर शैक्षिक सामग्री तथा पोसाक वितरण गर्ने गरिएको छ ।
हरेक वर्ष जस्तै यस वर्ष पनि वडा नम्बर ४ को वीरेन्द्र माविमा एक कार्यक्रमको आयोजना गरी पालिकाभरका ४० वटा विद्यालयका १ सय २५ जना विद्यार्थीहरूलाई तह अनुसार सामग्री वितरण गरिएको आमा बाबु स्मृति प्रतिष्ठान छात्रवृत्ति अक्षयकोषका अध्यक्ष चन्द्रबहादुर केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार कक्षा १–५ का विद्यार्थीहरूलाई एक सेट कपडा, एउटा झोला, एउटा टिफिन बक्स, २० वटा कलम र ६० वटा कापी तथा कक्षा ६–८ का विद्यार्थीहरूलाई एक सेट कपडा, एउटा झोला, ज्यामिति बक्स, ७२ वटा कापी र ३० वटा कलम वितरण गरिएको छ ।
मावि तथा कक्षा ९–१० का लागि भने ठुलो कापी ७२ वटा, एउटा झोला, एक सेट कपडा, ज्यामिति बक्स र ४० वटा कलम वितरण गरिएको उहाँले बताउनुभयो । अक्षयकोषको लाभांश मार्फत प्राप्त ४ लाख ८७ हजार खर्चिएर एक वर्ष पुरै पुग्ने गरी सामग्री प्रदान गरिएको अध्यक्ष केसीले बताउनुभयो ।
त्यस्तै अक्षयकोषबाट पालिका स्तरीय कक्षा ८ को परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पनि शैक्षिक सामग्री प्रदान गरिएको छ । प्रथमलाई ३६ वटा कापी, १० वटा कलम, द्वितीयलाई ३० वटा कापी, १० वटा कलम र तृतीयलाई २५ वटा कापी र १० वटा कलम प्रदान गरिएको केसीले जानकारी दिनुभयो । त्यस्तै प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीका अभिभावकलाई माला र एक सेट कपडाले सम्मान गरिएको छ ।
यसका साथै अघिल्लो वर्षको एसइई परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गर्ने पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई क्रमशः २ हजार, १५ सय र १ हजार नगदले पुरस्कार गरिएको छ भने तीनका अभिभावकलाई कपडाले सम्मान गरिएको छ ।
प्रतिष्ठानले गणतन्त्र दिवसको अवसरमा बिहीबार ६–८ मा हाजिरी जवाफ र ९–१० मा वक्तृत्वकला प्रतियोगिता समेत आयोजना गरेको थियो ।
हाजिर जवाफमा प्रथम वीरेन्द्र माविका विद्यार्थीले ८ हजार, द्वितीय बाल विकास मावि सिम्तारुका विद्यार्थी ६ हजार, तृतीय अणु आधारभूत विद्यालय स्याँलाका विद्यार्थीले ४ हजार र सान्त्वना जनकल्याण मावि पिपल जिपु तथा जन एकता मावि लागिमका विद्यार्थीले समान २ हजार पुरस्कार प्राप्त गरेका थिए ।
वक्तृत्वकला प्रतियोगितामा वीरेन्द्र माविका एलिजा धिताल प्रथम, स्यार्पू ताल माविका दिनेश ओली द्वितीय, नेपाल राष्ट्रिय मावि दुलीकी विपना चनारा तृतीय र बाल विकास मावि सिम्तारुकी तुलसा कुसारी सान्त्वना भएका छन् । प्रथमले ५ हजार, द्वितीयले ३ हजार, तृतीयले २ हजार र सान्त्वनाले १ हजार नगद पुरस्कार पाएको प्रतिष्ठानका अध्यक्ष केसीले जानकारी दिनुभयो ।
वीरेन्द्र मावि बाँफिकोट ४ मा कार्यालय रहेको आमा बाबु स्मृति प्रतिष्ठान छात्रवृत्ति अक्षयकोष ३८ लाख ५० हजारको रहेको छ । पालिकावासी तथा अन्य सहयोगी व्यक्तिहरूको सहयोगबाट अक्षयकोष स्थापना गरिएको हो ।
देश तथा विदेशमा रहेका जिल्ला भित्रका तथा जिल्ला बाहिरका समेत गरी हालसम्म अक्षयकोषका लागि १ सय ११ जनाले सहयोग गरेको प्रतिष्ठानले जनाएको छ । उक्त कोषमा रहेको रकमको लाभांशबाट हरेक वर्ष छात्रवृत्ति प्रदान गर्ने गरिएको छ ।
प्रतिष्ठानका अध्यक्ष चन्द्रबहादुर केसीको अध्यक्षतामा भएको यो वर्षको छात्रवृत्ति वितरण कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतमको प्रमुख र बाँफिकोट गाउँपालिका अध्यक्ष तारा बुढा केसीको विशेष आतिथ्यता रहेको थियो ।
त्यस्तै कार्यक्रममा बाँफिकोट गाउँपालिकाका पूर्व अध्यक्ष धर्मबहादुर केसी पूर्व अध्यक्ष, जिल्ला समन्वय अधिकारी पुण्यप्रसाद भट्टराई, इन्जिनियर घनश्याम शर्मा, गाउँपालिका शिक्षा शाखा प्रमुख वीरेन्द्रप्रकाश बुढाथोकी, इलाका प्रहरी प्रमुख विनोदप्रसाद शाह लगायतको आतिथ्यता रहेको थियो ।
अक्षयकोष सञ्चालक समितिका सदस्य रत्नबहादुर केसीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन अक्षयकोष सञ्चालक समितिका सदस्य शशीराम दाहालले गर्नुको थियो ।