Kakhara सबैको खबर सम्पूर्ण खबर
आमा बाबु प्रतिष्ठानले पुण्यको काम गरेको छ: जिसस प्रमुख गौतम

जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख लुम्बिनी गौतमले बाँफिकोटमा स्थापित आमा बाबु स्मृति प्रतिष्ठान छात्रवृत्ति अक्षयकोषले पुण्यको काम गरिरहेको बताउनुभएको छ । शुक्रवार कोषद्वारा आयोजित छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै उहाँले बेसहारा बालबालिका सहारा बनेको भन्दै कोषको प्रशंसा गर्नुभयो । 

कोषबाट बर्सेनि वितरण गरिने छात्रवृत्तिले पालिकाभरका टुहुरा, विपन्न, सहिद परिवार तथा जेहनदार बालबालिकाहरू पढाइबाट वञ्चित हुनबाट जोगिएको उहाँको भनाई थियो । 

देश तथा विदेशमा रहेका सहयोगीहरूलाई समेटेर कोष स्थापना गरिन निकै नै पुण्यको काम भएको भन्दै उहाँले कोषका संस्थापक अध्यक्ष चन्द्रबहादुर केसी सहित कोषमा सहयोग गर्ने देश तथा विदेशमा रहने सम्पूर्ण सहयोगहरूलाई धन्यवाद समेत दिनुभएको छ ।

यो देशकै नमुना योग्य काम भएकोले यसको निरन्तरताका लागि उहाँले शुभकामना समेत दिनुभयो । कापी, कलम, पोसाक जस्ता सामग्रीहरूको जोहो गर्न नसक्दा अहिले पनि कयौँ बालबालिका विद्यालय बाहिर रहेको अवस्थामा कोषले २०७६ साल देखि छात्रवृत्ति प्रदान गरेर पालिकामा विद्यालय छाड्नुपर्ने वा विद्यालय जानै नसक्ने अवस्थाको अन्त्य गरेको भन्दै जिसस प्रमुख गौतमले खुसी व्यक्त गर्नुभयो । 

आमा बाबु स्मृति प्रतिष्ठान छात्रवृत्ति अक्षयकोषबाट शुक्रवार बाँफिकोट गाउँपालिकाका ४० विद्यालयका १ सय २५ विद्यार्थीलाई तह अनुसार शैक्षिक सामग्री र पोसाक वितरण गरिएको छ । 

कोषले कक्षा ८ को पालिका स्तरीय परीक्षा तथा गत वर्षको एसइई परीक्षामा उत्कृष्ट अङ्क हासिल गर्ने विद्यार्थीलाई पुरस्कृत गरिनुका साथै तीनका अभिभावकलाई सम्मान समेत गरेको छ । त्यस्तै कोषबाट गणतन्त्र दिवसका अवसरमा हाजिर जवाफ र वक्तृत्वकला प्रतियोगिता समेत सञ्चालन गरेको थियो । 

२०७६ सालमा स्थापना भएको कोषमा हाल ३८ लाख ५० हजार रुपैयाँ रहेको छ । यसैको लाभांशबाट हरेक वर्ष विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने गरिएको छ ।

प्रकाशित मिति: शनिबार, जेठ १८, २०८२  ०६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update