
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले आगामी वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम ल्याएको छ । मङ्गलवार बाँफिकोट ४ मा रहेको सहिद परिवार समाजको सभा हलमा भएको १८ औँ गाउँ सभाले नीति तथा कार्यक्रम ल्याएको हो । गाउँपालिका अध्यक्ष जनकुमार बाँठाले २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । आर्थिक विकास तर्फ कृषि सिचाई तथा पशुपन्छी, उद्योग वाणिज्य तथा व्यापार, पर्यटन प्रवर्द्धन तथा साहित्य संस्कृति संरक्षण लगायत क्षेत्र समेटिएको छ ।
सामाजिक क्षेत्र तर्फ शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत् सडक, खेल तथा मनोरञ्जन लगायतका क्षेत्रलाई समेटिएको छ । यस्तै पूर्वाधार, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन,संस्थागत विकास तथा सुशासन सेवा प्रवाह लगाएका क्षेत्रलाई नीति तथा कार्यक्रममा समेटिएको छ । आर्थिक समृद्धिको पहिलो आधार कृषि भन्ने मूल नारालाई आत्मसाथ गरी कृषिलाई व्यावसायिक आधुनिक बनाइ रोजगारी सिर्जना गर्न खाद्यान्नमा आत्मनिर्भर बन्न गरिबी र भोकमरी अन्त्यका लागि आवश्यक भू उपयोग तथा पूर्वाधारको निर्माणलाई प्राथमिकता दिइने छ ।
कृषकको उत्पादनलाई बजार स्थल पुर्याउन कृषि हाट बजार तथा साझा सुविधा केन्द्रको विस्तार कृषि सडक सञ्जाल निर्माण, बाँफिकोट गाउँपालिका ४ को छिनखेतमा यसै आ.व.बाट दुग्ध सङ्कलन तथा भण्डार केन्द्र सञ्चालनमा ल्याइने छ । ङ्घीय सरकारसँगको साझेदारीमा किसान सूचीकरण गरी किसानलाई परिचयपत्र उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिइने छ । पशुपन्छीमा लाग्ने रोगको उपचारको लागि औषधी खरिद तथा खोप भण्डारण व्यवस्था गरिने छ । बाँफिकोट गाउँपालिकाको उद्योग क्षेत्रमा श्रोत साधनको समुचित प्रयोग गरी राष्ट्रिय औद्योगिक नीतिलाई टेवा पुग्ने गरी कार्यक्रम सञ्चालन गरिने छ ।
जलविद्युत विकासका लागि स्यार्पू हाइड्रो पावर कम्पनीमा बाँफिकोट गाउँपालिकाबाट शेयर लगानी गरी स्यार्पू हाइड्रो पावर कम्पनीमा बाँफिकोट गाउँपालिकाको शेयर स्वामित्व हिस्सा अभिवृद्धि गरिने छ । पर्यटकहरूको सुविधाको लागि होटेल, होमस्टे पदमार्ग सुधार, पर्यटन मेला सञ्चालनमा गाउँपालिकाले स्थानीय बासीसँग सहकार्य गर्ने नीति लिने छ स्यार्पू दह, तार्सुकाँडा, मेलगैरी, झारमारे थुमालेख, त्रिशुललगारे, गुप्तादह, भेरीखोला, जारकाटे,लगायतका क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरिने छ ।
आधारभूत शिक्षा निः शुल्क र अनिवार्य तथा माध्यमिक तह सम्म सबै बालबालिकाको सहज पहुँच सुनिश्चित गर्दै गरिब जेहनदार द्धन्द पीडित र दलित बालबालिकालाई छात्रवृत्तिका लागि आवश्यक कार्य गरिने छ । पालिका अस्पतालको कार्य सम्पन्न गरी छिटै सेवा प्रवाह गरिने छ । नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निः शुल्क प्रदान गरिने छ । पालिका भित्रका सबै स्वास्थ्य संस्थाहरूको सुदृढीकरण गरिने छ । पोषण स्वास्थ्य सुधारका लागि बहु क्षेत्रीय पोषण कार्यक्रमलाई निरन्तरता दिइने छ । खेलकुद सँग सम्बन्धी क्लब तथा संस्थाहरूलाई सुदृढ एवम् व्यवस्थित बनाउन आवश्यक मापदण्ड तथा कार्यविधि बनाइने छ ।
स्थानीय युवा तथा बाल क्लब मार्फत खेलकुद सम्बन्धी क्रियाकलाप सञ्चालन गरिने छ । महिला तथा बालमैत्री गाउँ स्थापनाका लागि महिला अपाङ्ग तथा बाल अधिकारको संरक्षण संवर्द्धन र प्रवर्द्धन गर्ने नीति लिइने छ । जन आन्दोलन तथा सशस्त्र सङ्घर्षको क्रममा सहिद तथा बेपत्ता परिवारहरूलाई सहिद स्मृति भत्ता र घाइते अपाङ्गता भएकालाई जीवन निर्वाह भत्ताको व्यवस्था गरिने छ । पूर्वाधार निर्माणमा उपभोक्तालाई सहभागी बनाइने छ । जनसहभागितामा आधारित विकास आयोजनालाई प्राथमिकता दिइने छ ।