Kakhara सबैको खबर सम्पूर्ण खबर
चाैरजहारी घटना: ‘मानसिक रूपमा असर गर्ने भिडिओ सामग्री हटाउनु’ 

रुकुम पश्चिमकाे चाैरजहारी नगरपालिका ३ टाटागाउँमा असार १७ गते श्रीमानबाटै श्रीमतीकाे हत्या भएकाे घटना सम्बन्धी मानसिक रूपमा असर पार्ने खालका युट्युब सामग्रीहरू हटाउन रुकुम जिल्ला अदालतले आदेश दिएकाे छ । घटना पश्चात् विभिन्न सञ्चार माध्यममा समाचार आएको र युट्युबमा आएका भिडिओहरू हेर्दा बालबालिकालाई पीडामाथि थप पीडा हुने गरी प्रश्न सोधेको देखिएको र भविष्यमा समेत यस्ता भिडिओहरू रहिरहेको अवस्थामा गम्भीर असर पर्न जाने देखिदा त्यस्तो मानसिक असर पार्ने खालका युट्युब सामग्रीहरू बालबालिकाको सर्वोत्तम हितलाई ध्यानमा राखी तत्काल हटाउन गृह मन्त्रालय र प्रेस काउन्सिल नेपाललाई लेखि पठाउन जिल्ला न्यायाधीश रामप्रसाद बस्यालले आदेश दिनुभएकाे हाे ।

विभिन्न युट्युव च्यानलले मानवीय संवेदनलाई ख्याल नगरी भ्युजका लागि संवेदनशील विषयमा पनि संवेदनाहीन सामग्रीहरु उत्पादन तथा प्रशारण गरेका छन् । यस्ता सामग्री उत्पादन तथा प्रशारणमा राेक लगाउन नेपाल पत्रकार महासंघ रुकुम पश्चिम सहित जिल्लास्थित पत्रकार संघसंगठनहरुले स्थानीय प्रशासनकाे ध्यानाकर्षण समेत गराएका थिए । अदालतले नै त्यस्ता सामग्री हटाउनु भनि आदेश गरेपछि याे आदेशलाई महत्वका साथ हेरिएकाे छ । ३२ वर्षीय चन्द्रबहादुर बुढाथाेकीले गत असार १७ गते श्रीमती ३० बर्सिया देवीका बुढाथोकीको सामान्य घरायसी विवादमा खुकुरी प्रहार गरी बीभत्स हत्या गरेका थिए । 

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  १८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update