
रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले बितेको आर्थिक वर्ष २०८१/०८२ मा पनि लक्ष भन्दा कम राजस्व सङ्कलन गरेको छ । जिल्ला सदरमुकाम समेत रहेको मुसिकोटमा राजस्वका स्रोतहरू धेरै भए पनि नगरपालिकाले लक्ष अनुसारको राजस्व सङ्कलन गर्न सकेको छैन । बितेको आर्थिक वर्षमा पनि नगरपालिकाले लक्षको ८१ प्रतिशत मात्र राजस्व सङ्कलन गर्न सकेको छ । नगरपालिकाले बितेको वर्ष ३ करोड ३० लाखको लक्ष लिएको थियो । तर नगरपालिकाले वर्षभरिमा २ करोड ७६ लाख २७ हजार ६ सय ८७ रुपैयाँ २३ पैसा सङ्कलन गरेको छ । यो लक्षको ८०.९९ प्रतिशत हो ।
त्यो भन्दा अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा पनि नगरपालिकाले आन्तरिक राजस्वको लक्ष पुरा गर्न सकेको थिएन । उक्त वर्ष पनि नगरपालिकाले ३ करोड ३० लाख नै राजस्वको लक्ष लिएकामा २ करोड ४६ लाख ८ हजार ६ सय ९६ रुपैयाँ राजस्व उठाएको थियो । उक्त वर्षको भन्दा बितेको आर्थिक वर्षमा राजस्व केही बढाए पनि मुसिकोटले लक्ष भने पुरा गर्न सकेन छ ।
नगरपालिकाले घर जग्गा रजिस्ट्रेसनबाट ६३ लाख ४७ हजार ६ सय ४ रुपैयाँ ६० पैसा, व्यवसाय कर २९ लाख ६२ हजार, घर बहालबाट २७ लाख ३२ हजार, नदीजन्य पदार्थबाट २३ लाख ८० हजार ७ सय ४८ रुपैयाँ ८६ पैसा र प्रशासनिक सेवा शुल्कबाट २० लाख ७८ हजार उठेको नगरपालिकाका राजस्व शाखा प्रमुख प्रेमबहादुर खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार भूमि मालपोत कर १८ लाख ७२ हजार, सरसफाइ शुल्क ८ लाख ४४ हजार, साना सवारी अटो दर्ता तथा नवीकरण दस्तुर ६ लाख ७५ हजार, नक्सा पासबाट ५ लाख ५५ हजार, व्यक्तिगत घटना दस्तुर ४ लाख ९६ हजार, नाता प्रमाणित दस्तुर ४ लाख ५ हजार र सम्पत्ति कर ३ लाख ५३ हजार राजस्व सङ्कलन भएको छ । यी बाहेक अन्य विभिन्न शीर्षकमा नगरपालिकाले कर सङ्कलन गर्ने गरेको राजस्व शाखा प्रमुख खड्काले जानकारी गराउनुभयो ।
विभिन्न कारणले राजस्व सङ्कलनमा समस्या भइरहेको उहाँले बताउनुभयो । मुख्य गरी करदातालाई करको महत्त्व बारे बुझाउन नसक्नु, कर दाखिलाको प्रक्रियाबारे जानकारी नहुनु, राजस्वको क्षेत्र स्पष्ट नहुनु र सम्भावित क्षेत्रलाई दायरामा ल्याउन नसक्नु, सङ्घ, प्रदेश र स्थानीय तह बिचमा राजस्वका क्षेत्रबारे स्पष्ट नहुनु, स्पष्ट कर प्रणाली लागु नहुनु, कर सङ्कलनमा खटिने कर्मचारीका लागि तालिमको अभाव, कर्मचारी र जनप्रतिनिधि तथा शाखा र उपशाखाका बिचमा पर्याप्त समन्वय नहुनुले राजस्व सङ्कलनमा समस्या भइरहेको राजस्व शाखा प्रमुख खड्काले बताउनुभयो ।