Kakhara सबैको खबर सम्पूर्ण खबर
केटी केटीकै बिचमा हुने ‘पापिनी विवाह’

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ७ साँझमा बिहीबार राति केटी केटीकै बिचमा विवाह भयो । माथि गाउँबाट आएका जन्ती तलिगाउँबाट बेहुली लिएर फर्किए । बाजागाजा सहित धूमधाम विवाह भयो । विवाहमा सयौँ मानिसहरू सहभागी बने । 

तर यो विवाह वास्तविक नभई नाटकीय हो । साँख गाउँमा परापूर्व काल देखि नै यो रीति चल्दै आएको छ । केटी केटीकै बिचमा हुने यो विवाहलाई पापिनी विवाहको नाम दिइएको छ । साँख गाउँमा मानव बसोबास सुरु भए देखि नै गाउँमा पापिनी मेला लाग्न थालेको र उक्त मेलामा यसरी केटी केटीकै बिचमा विवाह हुने प्रचलन रहेको स्थानीय अगुवाहरूको भनाई छ । 

papini-mela-(7)-1769772288.jpg
साँख गाउँमा दह छ । उक्त दहको माथि तिरको गाउँलाई माथि गाउँ र तल तिरको गाउँलाई तलिगाउँ भनिन्छ । यी दुई गाउँले परापूर्व काल देखि नै आलोपालो विवाहको रीति धान्दै आएका छन् । यो वर्ष दुलही अन्माउने पालो तलिगाउँको थियो भने सामाजिक परम्परा अनुसार विवाह गरेर माथि गाउँले बेहुली लिए र माथि गाउँमा बेलुली पुर्‍याएपछि परम्परा अनुसार भित्र्यायाे । 

हरेक वर्ष आलोपालो प्रणाली अनुसार यो वर्ष तलिगाउँकी बेहुली र माथि गाउँको बेहुला भएकामा अब अर्को वर्ष तलिगाउँको बेलुला र माथि गाउँकी बेहुली हुने छिन् । यसै गरी आलोपालो यो रीति चलाइन्छ । उक्त विवाह हेर्नेलाई कुनै पनि अवस्थामा काल्पनिक लाग्दैन । हाम्रो समाजमा चलिआएको रीति अनुसार नै विवाह सम्पन्न गर्ने प्रचलन छन् । 

papini-mela-(8)-1769772289.jpg
बेहुली लिन जन्ती जाने शैली, जन्तीलाई बेहुलीको गाउँमा स्वागत गर्ने संस्कार, माइतीमा विवाह गर्ने चलन, त्यसपछि विवाहको खुसीयालीमा हुने नाचगान, बेहुलीलाई अन्माउने तरिका देखि बेहुलीलाई घरमा लिएर गरिने स्वागत सबै हाम्रो सामाजिक मूल्य मान्यता अनुसार गरिन्छ । यसले विवाहलाई वास्तविक जस्तै बनाइदिन्छ । 

यति मात्र होइन विवाह अघि केटी माग्न जाने चलन समेत वास्तविकतामा मेल खान्छ । हरेक वर्षको माघ १४ गते केटी माग्न जाने प्रचलन छ भने १५ गते राती बेहुली लिन जन्ती आउने र माइती पक्षले छोरी अन्माएर पठाउने गर्छन् । १६ गते दिनभरि साँख दहमा मेला लाग्छ । पापिनी विवाहको अर्को रौनक हो पापिनी नाच । विवाह चल्दै गर्दा ठुलो संख्यामा किशोरीहरू लहरै लागेर नाच्ने नाच हो पापिनी । 

papini-mela-(5)-1769772285.jpg
आकर्षक पहिरनमा सजिएर बाजाको तालमा नाचिने यो नाच पनि दर्शकको प्रमुख आकर्षणको केन्द्र हो । यो नाच विवाह नगरेका कन्याले मात्र नाच्न पाउँछन् । हरेक वर्ष नाटकीय विवाह र नाचगान नगर्दा गाउँमा अनिष्ट हुन्छ भन्ने जनविश्वास लामो समयदेखि रही आएको स्थानीय अगुवाहरू बताउँछन् । गाउँमा राक्षसको बास रहेको र उ रिसाएमा गाउँमा नराम्रो हुने भएपछि उसलाई खुसी बनाउन यस्तो अनौठो प्रचलनको सुरुवात भएको मानिने स्थानीयको भनाई छ । यसवर्षकाे मेला आज सकिएकाे छ ।

papini-mela-(6)-1769772285.jpg

papini-mela-(4)-1769772283.jpg

papini-mela-(3)-1769772280.jpg

papini-mela-(2)-1769772281.jpg

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०८२  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update