Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोट खलङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा महेन्द्रराज 

मुसिकोट खलङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नयाँ नेतृत्व चयन भएको छ । मुसिकोटमा आज भएको संस्थाको दोस्रो साधारण सभा तथा अधिवेशनबाट संस्थाको नयाँ नेतृत्व चयन गरिएको हो । 

संस्थाको अध्यक्षमा महेन्द्रराज गौतम सर्वसम्मत निर्वाचित हुनुभएको छ । हालसम्म उहाँ संस्थाको सचिवको जिम्मेवारीमा हुनुहुन्थ्यो । उहाँको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरिएको हो । 

उपाध्यक्षमा टेकबहादुर बस्नेत, सचिवमा जीवन खड्का र कोषाध्यक्षमा टेकबहादुर कुसारी निर्वाचित भएको निर्वाचन समितिले जानकारी गराएको छ । खुला सदस्यमा हरिबहादुर गिरी र मोहन रोका, महिला सदस्यहरूमा बालकुमारी गिरी, भारसी गुरुङ बुढा र मैन बुढा निर्वाचित हुनुभएको छ । 

त्यस्तै बन्द सत्रबाट संस्थागत र आर्थिक प्रतिवेदन तथा आगामी कार्यक्रम समेत पारित भएको नव निर्वाचित अध्यक्ष गौतमले जानकारी दिनुभयो । यो संस्थाले मुसिकोट नगरपालिकामा खानेपानी वितरण गर्दै आइरहेको छ । यस संस्थामा साढे ११ सय उपभोक्ताहरू रहेका छन् ।

संस्थाको साधारण सभा तथा अधिवेशनको आजै वडा नम्बर १ मा मठमा रहेको कार्यालयमा उद्घाटन गरिएको थियो । जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतमले साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्नुभएको थियो । 

प्रकाशित मिति: शनिबार, भदौ ६, २०८३  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update