Kakhara सबैको खबर सम्पूर्ण खबर
निषेधाज्ञामा रोजगार

निषेधाज्ञामा रोजगार सँगै गाउँ विकास । लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पूर्वमा कोरोना महामारीको निषेधाज्ञामा पनि बेरोजगार युवाहरूले रोजगारी पाएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पुथाउत्तरगंगा गाउँपालिकामा आर्थिक वर्ष २०७७/०७८ को विनियोजित बजेटका सम्पुर्ण योजनाहरु सम्पन्न भएका छन । तीन वटा स्थानीय तहमा ३१ वडा रहेको यस जिल्लामा पुथाउत्तरगंगा गाउँपालिकामा सबैभन्दा धेरै वडाहरु रहेका छन ।

१४ वटा वडा रहेको यस गाउँपालिकामा १४ वटा आयोजनामा हरेक वडाका १०/१० जना गरी १ सय ४० जना विपन्न वर्गका श्रमिक तथा बेरोजगार युवाहरूले रोजगार पाएको प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक अनिता भुसालले जानकारी दिनुभयो । पालिकामा सूचिकृत १  सय ४० जना वेरोजगार ब्यक्तिहरुले काम गर्ने अवसर पाएका हुन् । गाउँपालिकामा वेरोजगारको दर्ता संख्या बढ्दो क्रममा रहेपनी विनियोजित बजेट ६७ लाख २१ हजारको आधारमा प्रति व्यक्ति एक आर्थिक वर्षमा कम्तीमा १०० दिन काम गर्ने अवसर प्राप्त हुँदा गरीबको मानव पूँजी निर्माणमा लगानी भएको प्राबिधिक दिपक बुदाथोकीले बताउनुभयो ।

१ वर्षमा ३० देखि ४० हजार रुपैयाँ नगदको जोहो गर्न विदेशिनु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्ने आधार यस कार्यक्रमले सृजना गरेको छ । यद्यपि गाउँपालिकामा टेलिफोन, नेटवर्क, बैंकको पहुँचको अभावसँगै कोरोना महामारीको जोखिम, भौगोलिक विकटताको हिसाबले पिछडिएको क्षेत्र भएकाले कार्यविधि अनुसार समयमा कार्य सप्पन्न गर्न निकै अप्ठ्यारो रहेको संयोजक भुसालले बताउनुभयो । 

प्रकाशित मिति: आइतबार, असार २०, २०७८  ०९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update