Kakhara सबैको खबर सम्पूर्ण खबर
विद्यार्थी पढाउँदै गाउँपालिका अध्यक्ष
जनशक्ति माविका विद्यार्थीलाई पढाउँदै गाउँपालिका अध्यक्ष बुढा ।रामसुर बुढा मगर

‘विद्यार्थी पढाउँदै गाउँपालिका अध्यक्ष’ भन्ने सुन्दा र पढ्दा अनौठो लाग्ला । यो स्वभाविक पनि छ । तर यो अनौठो मान्नुपर्ने विषय होइन । रुकुम पूर्वको भूमे गाउँपालिकाका लागि स्वभाविक विषय भइसक्यो । गाउँपालिका अध्यक्ष रामसुर बुढा मगर विद्यार्थी पढाउँनुहुन्छ । विद्यालयमा गएर १० कक्षाका विद्यार्थीलाई पढाउन थाल्नुभएको केही समय भइसक्यो । अध्यक्ष बुढाले दैनिक विद्यालयमा गएर पढाउने भने गर्नुभएको होइन ।

गाउँपालिका भित्र रहेका १० कक्षा सम्म पठन पाठन हुने विद्यालयमा गएर त्यहाँका विद्यार्थीलाई एक देखि डेढ घण्टासम्म अध्यक्ष बुढाले पढाउने गर्नुभएको हो । किशोर,किशोरीहरुले आफ्नो भविश्य, समाज बुझ्ने, सामाजिक उत्तरदायित्व सम्झने विषयमा अध्यक्ष बुढाले विद्यार्थीलाई पढाउनुहुन्छ । खुला समाजमा बढ्दै गएको विकृतिप्रति भर्खरका केटाकेटीको मन नबरालियोस भनेर जीवन दर्शनका बारेमा विद्यार्थीसित अन्तरक्रिया गरिरहेको अध्यक्ष बुढाले बताउनुभयो ।

विद्यालयमा पूर्व जानकारी नगराई विद्यालयमा गएर पढाउने गरेको जानकारी अध्यक्ष बुढाले दिनुभयो । समाज र भविश्यलाई कसरी बुझ्ने । दर्शन के हो ? समाज र जीवनलाई बुझ्ने दर्शन कति छन् ? दर्शनले के भन्छन् समाज, वस्तु, जीवन, विकासका चरण के के हुन् । कसरी विकास हुन्छ भन्ने विषयवस्तुमा केन्द्रीत रहेर पठन पाठन गराइरहेको अध्यक्ष बुढाले बताउनुभयो । 

२ नम्बर वडाको त्रिवेणि मावि काँक्री, ३ नम्बर वडाको सहिद शुक्र मावि सिमा, ६ नम्बर वडाको जनजागृति मावि महत र ४ नम्बर वडाको जनशक्ति मावि काँडाका विद्यार्थीलाई अध्यक्ष बुढाले पढाई सक्नुभएको छ । आवश्यक परे दोहोर्याएर जाने योजना उहाँले बनाउनुभएको छ । बाँकी विद्यालयमा पनि यसरी पढाउने जाने योजना उहाँले बनाउनुभएको छ ।

‘मुख्य गरी तीन उद्देश्य सहित म विद्यालय र कक्षा कोठामा जान्छु,’ अध्यक्ष बुढाले भन्नुभयो, ‘हेर्ने भन्ने र सुन्ने यी उद्देश्य परिपुर्ति गर्न प्रयासरत छु ।’ विद्यालयमा पुगेपछि शिक्षकको नियमितता, भौतिक संरचना, वातावरणिय अवस्था हेर्ने पहिलो उद्देश्य हुन्छ । त्यसपछि विद्यार्थीलाई पढाउने आफ्ना अनुभव भन्ने दोस्रो उद्देश्य हुन्छ । त्यसपछि विद्यालय प्रशासन, शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा गाउँपालिकाप्रति विद्यार्थीको गुनासो के छ ? सुझाव के के छन् ? समग्र विकासमा कस्ता बुझाई छन भनेर जानकारी लिइ त्यसकै आधारमा योजना बनाउने र कार्यान्वयन गर्ने अर्को उद्देश्य रहेको अध्यक्ष बुढाले बताउनुभयो ।

जनशक्ति मावि काँडाका एक विद्यार्थी रविन बुढाले गाउँपालिका अध्यक्षले सुरु गरेको कार्यक्रम महत्वपूर्ण लागेको बताउनुभयो । जीवनमा सिक्नुपर्ने कुराका बारेमा पनि जानकारी दिनुभएपछि सोचाईर बुझाई बदलिएको रविनको भनाई छ । त्यसपछि विद्यालय र गाउँपालिकाका कामका बारेमा सल्लाह सुझाव माग्ने काम गरेकाले आफूले देखेको सुझाव राख्न पाउनुलाई पनि आफूले महत्वपूर्ण अवसरको रुपमा बुझेको रविनले बताउनुभयो ।

प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७  १८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update