रुकुम पूर्व भूमे गाउँपालिकाले आयोजना गरेको चौथो वृहत् भूमे सांस्कृतिक महोत्सव फरक तरिकाले उद्घाटन गरिएको छ । शनिबार भूमे-२ खाबाङ बगरमा वृहत् भूमे सांस्कृतिक महोत्सवको लागि मञ्च सजाइएको थियो । जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठले महोत्सवको उद्घाटन गर्नुभयो । महोत्सवको उद्घाटन समन्वय प्रमुखले फरक विधिबाट उद्घाटन गर्नु भएको हो । मगर समुदायको जुनसुकै काम सुरुवाति र समापन गर्ने क्रममा देवता तथा पुर्खालाई धजा-धारधूप-अक्षता र रक्सी चढाउने चलन रहेको छ ।
मौलिकता बचाउँदै ऐतिहासिकता खोजेर पुर्खाका चलनलाई स्थान दिँदै जानु पर्ने स्थानीय कला, सांस्कृति अनुसन्धान अभियानता तथा भूमे-३ क्याङ्सीका तिलकबहादुर रोका मगरले बताउनुभयो । पुर्खाका चलनचल्ती जोगाउँदै जादा स्थानीयको संस्कार, संस्कृति बढवा पाउनु सकारात्मक पक्ष रहेको रोका मगरको भनाइ रहेको छ ।
तर, कार्यक्रममा धजा-धारधूप-अक्षता र रक्सी चढाइ कार्यक्रम सुरु वा अन्त्य गर्ने चलन छैनन् । यस पटकको चौथो वृहत् भूमे सांस्कृतिक महोत्सव देवतालाई धजा-धारधूप-अक्षता र रक्सी चढाइ उद्घाटन गरिएको छ । परम्परागत संस्कृतिसँग सम्बन्धित नाच एवम् गीत जगेर्नाका लागि भूमे गाउँपालिकामा चौथो भूमे वृहत् सांस्कृतिक महोत्सवको आयोजना गरिएको छ । भूमे गाउँपालिकाले २०७५ साल देखि लगातार पुराना नाच एवम् गीत जगेर्नाका लागि खुला सांस्कृतिक महोत्सव आयोजना गर्दै आएको हो ।
२०७८ साल मात्र कोरोनाका कारणले महोत्सव रोकिएको थियो । मगर समुदायको ठूलो पर्व भूमे अर्थात् बल पूजाका अवसरमा भूमे गाउँपालिका-२ खाबाङ बगरमा प्रतियोगिता गराउने गरेको छ । असार ३ गते देखि विभिन्न विधाका नाच एवम् गीतमा प्रतिस्पर्धा गराउने आयोजकले जनाएको छ । भूमे, नचारु, मयुर, पैसेरु (डिग्रे), फाँक, झोरेल्नी, सिङगारु गरी ७ विधाका नाच र एक लस्के गीतमा खुला प्रतिस्पर्धा गराइने आयोजकले बताएको छ ।
स्थानीय पुराना नाच तथा गीत अहिले लोप हुँदै गइरहेको हुँदा विशेषगरी परम्परागत रूपमा नाचिँदै तथा गाइँदै आइएका नाच एवम् गीतको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता राख्ने गरिएको गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठको भनाइ रहेको छ । पर्यटन विकासमा परम्परागत कला, संस्कृतिको महत्त्वपूणर् भूमिका हुने भएकाले त्यसको संरक्षण र प्रवर्द्धन स्थानीय सरकारको प्राथमिकतामा परेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । पुराना नाच तथा गीत जगेर्नाका लागि हरेक वर्ष वृहत् भूमे सांस्कृतिक महोत्सव आयोजना गरी उत्कृष्ट समूहलाई पुरस्कृत गर्ने अघिल्लो जनप्रतिनिधिले बनाउनुभएको नीति अनुसार महोत्सवलाई निरन्तरता दिइएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
भूमे नाचमा प्रथम हुने समूहलाई नगद एक लाख पुरस्कार पाउने छन् । दोस्रोले ७५ हजार, तेस्रोले ५० हजार र सान्त्वना समूहले २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । नचारु नाचमा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुने समूहलाई क्रमशः ७५, ५०, ३० र १५ हजार नगद प्राप्त गर्ने छन् । यसैगरी मयूरमा प्रथम आउने समूहले ५०, दोस्रोले ३०, तेस्रोले २० र सान्त्वना हुने समूहले १० हजार नगद पाउने छन् । यस्तै पैसेरु, फाँक, झोरेल्नी, सिङगारु र लस्केमा प्रथम आउने समूहले ३०, दोस्रोले २०, तेस्रोले १० तथा सान्त्वना हुने समूहले ५ हजार नगद पुरस्कार पाउनेछन् ।
महोत्सव उद्घाटन कार्यक्रममा जिसस प्रमुख मेघबहादुर श्रेष्ठ, उपप्रमुख मोहनबहादुर केसी, भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठ, सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, पुथाउत्तरगंगा गाउँपालिका अध्यक्ष पुनिराज घर्ती मगर, भूमे गाउँपालिका उपाध्यक्ष सविना बुढा, पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा, सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउले, भूमे गाउँपालिका पूर्व अध्यक्ष रामसुर बुढा मगर, प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा लगायत जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।



-1765202239.jpeg)

-1759842583.jpg)