रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगती समीक्षा कार्यक्रम संचालन गरेको छ । आज गाउँपालिकाको सभाहल खारानेटामा गाउँपालिकाले वर्षभरीको प्रगति सार्वजनिक गरेको हो । पालिकाका १० वटै वडामा आर्थिक वर्ष २०७९/०८० मा निर्माण सम्पन्न भएका विकास निर्माणका काम, पालिका अन्तर्गत रहेका विभिन्न शाखाले गरेका काम तथा गतिविधिहरु सार्वजनिक गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीले जानकारी दिनुभयो ।
शाखाहरुबाट शाखा प्रमुखहरुले आ–आफ्नो शाखाले वर्षभरी गरेका गतिविधि लगायत, खर्चको विवरण सार्वजनिक गरेका थिए । गाउँपालिकाबाट सम्पन्न भएका योजना, संघीय र प्रदेशबाट आएका तथा गाउँपालिकाबाट कार्यान्वयन भएका योजनाको प्रगतिका बारेमा समेत जानकारी गराइएको थियो ।
वितेका वर्षहरु भन्दा चालु आर्थिक वर्ष गाउँपालिकाबाट हुने विकास निर्माण र जनतालाई दिने सेवा सुविधामा पालिका थप उत्कृष्ट बन्दै गएको गाउँपालिका अध्यक्ष गणेशकुमार केसीले बताउनुभयो । गाउँपालिकामा कार्यरत कर्मचारी, जनप्रतिनिधि लगायत जनताको सहयोगमा गाउँपालिकालाई सेवाग्राही मैत्री बनाउँदै लगेको उहाँको भनाई छ ।
‘समृद्ध त्रिवेणी, सुखी र सम्मानित त्रिवेणीबासी’को सपना पूरा गर्न जनप्रतिनिधि संगै कर्मचारीहरुको पनि उत्तिकै भुमिका हुने भएकाले कर्मचारीहरुले पनि गुणस्तरीय सेवालाई ध्यानमा राखेर काम गर्नुपर्ने उहाँले बताउनुभयो । गाउँपालिका अध्यक्ष केसीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउले, वडा अध्यक्ष, सदस्य, वडा सचिव, पालिकामा कार्यरत कर्मचारी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन स्वास्थ्य शाखा सह–संयोजक बिरबहादुर डाँगीले गर्नुभएको थियो ।