Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकोटमा झन्डै ३ हजार बेराेजगार सूचिकृत, रोजगारी पाए २ सय २१ जनाले 

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा दुई सय २१ जनाले रोजगारी पाएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम र मुख्यमन्त्री रोजगार कार्यक्रमबाट रोजगारी पाएका हुन् । गत आर्थिक वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ९६ र मुख्यमन्त्री रोजगार कार्यक्रमबाट एक सय २५ जनाले रोजगारी पाएको रोजगार संयोजक समीर गौतमले जानकारी दिनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत ११ वटा गोरेटो बाटो निर्माण गरिएको छ ।

उक्त कार्यक्रमका लागि पालिकामा ६१ लाख २४ हजार आठ सय ९२ रुपैयाँ आएको थियो । मुख्यमन्त्री रोजगार कार्यक्रम मार्फत पालिकामा आएको १५ लाख रुपैयाँ खर्चिएर १० वटा योजना निर्माण भएका थिए । सिँचाइ कुलो, खानेपानी तथा विद्यालय भवन र खेल मैदान लगायत योजना निर्माण भएका हुन् । पालिकामा दुई हजार सात सय १९ जना बेरोजगार सूचिकृत भएका थिए । जसमा महिला एक हजार आठ सय ३८ र पुरुष आठ सय ८१ रहेका थिए । तर निकै कमले मात्र राेजगारी पाएका छन् । 

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  १४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update