
रुकुम पश्चिमका सबै पालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट ल्याएका छन् । बाँफिकोट गाउँपालिका बाहेक अन्य पालिकाले बजेट गाउँ तथा नगर सभाबाट पारित समेत गरिसकेका छन् । चालु आर्थिक वर्षको तुलनामा जिल्लाका स्थानीय तहको आगामी आर्थिक वर्षको बजेट भने घटेको छ ।
६ मध्ये दुई स्थानीय तह बाहेक ४ वटाको बजेट घटेको छ । चालु वर्षका लागि ६ वटा पालिकाले समग्रमा ४ अर्ब ११ करोड ६७ लाख ३५ हजार ५ सय १८ रुपैयाँ बराबरको बजेट ल्याएकामा आगामी आर्थिक वर्षका लागि भने जिल्लास्थित पालिकाको बजेट ३ अर्ब ८७ करोड ४२ लाख ५९ हजार ७ सय ६३ मा खुम्चिएको छ ।
चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेट २४ करोड २४ लाख ७५ हजार ७ सय ५५ रुपैयाँले कम हो । चालु आर्थिक वर्षको तुलनामा सानीभेरी गाउँपालिका र आठबिसकोट नगरपालिकाले मात्र आगामी वर्षका लागि बजेट बढाएका छन् भने अन्य ४ पालिकाको बजेट घटेको छ ।
सबैभन्दा बढी मुसिकोट नगरपालिकाका बजेट १४ करोड ७१ लाख ८४ हजार ७ सय ८६ रुपैयाँले घटेको छ । चालु आर्थिक वर्षका लागि ८४ करोड ७१ लाख ७८ हजार ९ सय ८६ रुपैयाँको बजेट ल्याएको मुसिकोटले आगामी वर्षका लागि ६९ करोड ९९ लाख ९४ हजार २ सय बराबरको बजेट ल्याएको छ ।
चौरजहारी नगरपालिकाको बजेट १० करोड ९२ लाख ६२ हजारले घटेको छ । चालु वर्षका लागि जिल्लाका सबै पालिका भन्दा बढी ९२ करोड ८७ लाख ४५ हजार बराबरको बजेट ल्याएको चौरजहारीले आगामी वर्षका लागि भने ८१ करोड ९४ लाख ८३ हजार बराबरको बजेट पास गरेको छ ।
चालु वर्षमा ५१ करोड ६९ लाख ८४ हजार बराबरको बजेट ल्याएको बाँफिकोट गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि १ करोड ४४ लाख ९ हजार ४ सय ३७ रुपैयाँ कम अर्थात् ५० करोड २५ लाख ७४ हजार ५ सय ६३ रुपैयाँको बजेट ल्याएको छ ।
त्यस्तै त्रिवेणी गाउँपालिकाको बजेट पनि घटेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षका लागि ५८ करोड २३ लाख १३ हजार बराबरको बजेट ल्याएकोमा आगामी वर्षका लागि ५४ करोड ८६ लाख ३२ हजार बराबरको बजेट ल्याएको छ । यो ३ करोड ३६ लाख ८१ हजारले कम हो ।
आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकाको भने बजेट बढेको छ । चालु आर्थिक वर्षका लागि ७२ करोड ७६ लाख ६१ हजार ३१ रुपैयाँको बजेट ल्याएको आठबसिकोटले ७६ करोड ३८ लाख ६९ हजार बराबरको बजेट ल्याएको छ । यो ३ करोड ६२ लाख ७ हजार ९ सय ६९ रुपैयाँले बढी हो ।
सानीभेरी गाउँपालिकाले २ करोड ५८ लाख ५३ हजार ४ सय ९९ रुपैयाँले बढाएको छ । चालु आर्थिक वर्षमा ५१ करोड ३८ लाख ५३ हजार ५ सय १ रुपैयाँ बराबरको बजेट ल्याएकोमा आगामी आर्थिक वर्षका लागि ५३ करोड ९७ लाख ७ हजार बराबरको बजेट ल्याएको छ ।
किन घट्यो ?
सङ्घ र प्रदेशबाट आउने रकम घटेपछि बजेटको आकार घटेको स्थानीय तहहरूले जनाएका छन् । नगरपालिकाको सञ्चित कोषबाट खर्च हुने गरी विभिन्न आयोजनाहरूका लागि सशर्त पुँजीगत बजेट प्रदान गर्न यस वर्ष सङ्घ र प्रदेश सरकार उदासीन बनेपछि बजेटको आकार घटन गएको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार चालु आर्थिक वर्ष सङ्घबाट ४ करोड ७० लाख २८ हजार र प्रदेश सरकारबाट ५ करोड ९५ लाख प्राप्त भएकामा यो आगामी वर्षका लागि बजेट निकै घटेर आउने भएको छ । जसका कारण आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको तुलनामा घटाएर ल्याइएको उहाँले बताउनुभयो ।
त्यस्तै सबैभन्दा बढी बजेट घटेको मुसिकोट नगरपालिकाले पनि सङ्घ र प्रदेशबाट आउने अनुदान घटेकोले बजेटको आधार घटेको बताएको छ । नगर उपप्रमुख विमलकुमार पुनले सङ्घ र प्रदेशबाट आउने अनुदान घट्नुका साथै आन्तरिक राजस्वको लक्ष पूरा गर्न नसकिएका कारण आगामी आर्थिक वर्षको बजेट घटेको बताउनुभयो ।