रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ६ का स्थानीय युवाले फोहोर फाल्न गएको नगरपालिकाको टिप्पर नियन्त्रणमा लिएका छन् । वडाको सुवाखोलामा नगरपालिकाले फोहोर व्यवस्थापन गर्न खोजेपछि स्थानीय युवाहरूले अवरोध गरेका हुन् ।
स्थानीय युवाहरूले फोहोर लिएर गएको टिप्पर र जेसिबिको साँचो नियन्त्रणमा लिएका छन् । सुवाखोलामा फालेको फोहोर उठाएर नियन्त्रणमा रहेका गाडी लैजान युवाहरूले नगरपालिकालाई अनुरोध गरेका छन् । उक्त ठाउँमा फोहोर फाल्दा धेरै गाउँहरू प्रभावित हुने भन्दै स्थानीय युवाहरूले अवरोध गरेका हुन् ।
फोहोर सोझै खोलामा फाल्दा बर्सादको समयमा उक्त खोलामा पर्ने सल्यदार मुहान, माहुन धारा मुहान, पँधेरी खोला मुहानमा प्रदूषित भई सोझै असर पर्ने र उक्त मुहानको पानी पिउने दाहिगारा, भण्डारीकाँडा, ठाराढुँङ्गा, चाँपा, डाङ्ग्डुङ्गे, कुनाबाङ्ग, सेरिगाउँ सम्मका नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने स्थानीय नारायण केसीले जानकारी दिनुभयो ।
साथै फोहोरको कारण वातावरण प्रदूषण भई आसपासको बस्तीमा असर गर्ने, विभिन्न रोगको संक्रमण फैलिने, खोला पुर्ने नाममा जनताको स्वास्थ्यमा खेलवाड गर्न नहुने, दिगो फोहोर व्यवस्थापनका लागि प्लास्टिक जन्य बस्तु निषेध गर्नुपर्ने, कुहिने बस्तुबाट कम्पोस्ट मल उत्पादन गर्नुपर्ने, नकुहिले बस्तु सिसा, प्लास्टिक तथा अन्य बस्तुलाई छुट्टाई पुनः प्रयोगमा जोड दिन समेत स्थानीय युवाले आग्रह गरेका छन् ।
साथै स्थानीयको आग्रहलाई आलटाल गरी बेवास्ता गरे सबै स्थानीयवासी आन्दोलित हुने र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार सम्बन्धित निकाय नै हुने र स्थानीयको स्वास्थ्यमा असर गर्ने यस्ता खालका गतिविधि नगर्न समेत चेतावनी दिएका छन् ।
नगरपालिकाको फोहोर व्यवस्थापन हालसम्म मुसिकोट नगरपालिका वडा नम्बर २ को सतिपोलेमा भइरहेकामा प्रदूषण फैलिएको भन्दै त्यहाँका स्थानीयले अवरोध गरेपछि १ महिना देखि मुसिकोटको फोहोर उठ्न सकेको छैन । जसका कारण मुसिकोटका मुख्य बजारका चोक चोकमा फोहोरको थुप्रो लागेको छ भने त्यसले प्रदूषण फैलिन थालेको छ ।
वडा नम्बर १ को निपानेमा डम्पिङ साइटको काम चलिरहेको र काम सकिँदासम्म सतिपोलेमा फोहोर फाल्न दिन नगरपालिकाले गरेको अनुरोध स्थानीयले अस्वीकार गरेपछि नगरपालिका वैकल्पिक रूपमा फोहोर व्यवस्थापनको लागि ठाउँको खोजीमा छ ।
सोही अनुसार वडा नम्बर ६ डाँडिगाउँमा रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहनुभएका स्थानीय पलबहादुर खड्काले जग्गा दिनुभएको थियो । तर उक्त ठाउँमा पनि स्थानीयले अवरोध गरेपछि नगरपालिकाले सुवाखोलामा फोहोर व्यवस्थापन गर्ने योजना बनाएको थियो ।
‘उक्त ठाउँमा खेल मैदान निर्माणको काम चलिरहेको छ, खेल मैदान पुरा गर्न ठुलो खोल्सा भर्नुपर्ने छ, माटो मात्र राख्दा धेरै खर्च आउने देखिन्छ, त्यस कारण फोहोर पनि फाल्ने र माटो पनि भर्दा छिटो हुन्छ भनेर हामीले यसो सोचेका हौँ, नगर उपप्रमुख विमलकुमार पुनले भन्नुभयो–फोहोर खुला रूपमा फाल्ने भनेको होइन, प्रत्येक दिन फोहोर फाल्ने र सोही दिन माटोले पुर्ने भनेका हौँ, यसो गर्दा खोल्सा भरिन्छ र मैदान ठुलो हुन्छ ।’
तर स्थानीयले अवरोध गरेपछि भने अब त्यहाँ फोहोर नपाल्ने उहाँले जानकारी गराउनुभयो । फोहोर नफाल्ने भनेपछि स्थानीयले नियन्त्रणमा रहेका गाडी दिन राजी भएको र गाडी ल्याउन नगरपालिकाबाट टोली पठाइएको उहाँको भनाई छ । तर स्थानीयले अहिलेसम्म फालेको फोहोर उठाएर लिन समेत भनेका छन् ।
यसमा नगरपालिका सहमत नभएको स्थानीय केसीले बताउनुभयो । फोहोर नउठाउँदासम्म नियन्त्रणमा रहेका गाडीका साँचो नदिने स्थानीय युवाको अडान छ ।





-1759842583.jpg)