Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणीबाट यसवर्ष ९० लाख  रुपैयाँ भन्दा बढीको सुन्तला बिक्री 

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा व्यावसायिक सुन्तला खेती गर्ने किसानको सङ्ख्या घटेको छ । गत वर्षको तथ्याङ्क अनुसार पालिकाभर १ सय ३ जना किसानले व्यावसायिक सुन्तला खेती गर्दै आएकामा यस वर्ष भने घटेर ५५ जना किसानले मात्रै व्यावसायिक सुन्तला खेती गर्दै आएका छन् । पालिकाभर यस वर्ष किसानले २ सय ७५ रोपनीमा १६ सय ५० क्विन्टल सुन्तला उत्पादन गरेको त्रिवेणी गाउँपालिका कृषि शाखा प्रमुख ऐनबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँबाटै प्रतिकिलो ५५ रुपैयाँका दरले सुन्तला विक्री भएको छ । पालिकामा यस वर्ष आम्दानी समेत घटेको छ । यस वर्ष सुन्तला बिक्रीबाट ९० लाख ७५ हजार रुपैयाँ भित्रिएको छ । गत वर्ष सुन्तला बिक्रीबाट पालिकामा १ करोड १ लाख ८ हजार ८ सय रुपैयाँ भित्रिएको थियो । उत्पादन गर्ने किसानको सङ्ख्या घट्नु र उत्पादनमा कमी आउनुले गत वर्षभन्दा यस वर्ष कारोबारमा कमी आएको कृषि शाखा प्रमुख कार्कीको भनाई  छ । 

यद्यपि समयमै किसानले सुन्तला विक्री गरेको उहाँको भनाइ छ । यो वर्ष असिनाको मार समेत किसानले सामना गरेका थिए । असिनाले क्षति नपुर्‍याएको ठाउँमा भने किसानले सुन्तलाबाट राम्रो आम्दानी गरेका छन् ।  व्यावसायिक सुन्तला खेती गर्ने प्रत्येक किसानले ५ रोपनी क्षेत्रफल भन्दा बढी जग्गामा सुन्तला खेती गर्दै आइरहेका छन् । एक रोपनी क्षेत्रफलमा करिब ६ क्विन्टल सुन्तला उत्पादन हुने गरेको कृषि शाखा प्रमुख कार्कीले जानकारी दिनुभयो । 

पालिकाभर २ सय ७५ रोपनी अर्थात् १३ दशमलव ७५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भइरहेको छ । व्यावसायिक रूपमा पालिकाको वडा नम्बर १, ४, ५, ६ र ७ का किसानहरूले सुन्तला खेती गर्दै आएका छन् । सुन्तला खेतीबाट गत वर्षजस्तै यो वर्ष पनि राम्रो आम्दानी भएको त्रिवेणी गाउँपालिका वडा नम्बर ४ जुगेपानीका ५२ वर्षीय कृषक चन्द्रबहादुर खड्काले बताउनुभयो । 

यो सिजनमा सुन्तला बिक्रीबाट ५ लाख रुपैयाँ बढीको आम्दानी गरेको खड्काको  भनाई छ । ‘सुन्तला बिक्री गर्न समस्या छैन, सुन्तला खरिद गर्न व्यापारी घरमै पुग्छन्, घरबाटै ५ लाख बढी रुपैयाँको सुन्तला बेचेँ’ खड्काले भन्नुभयो । यस वर्ष सुन्तला राम्रो उत्पादन भएको र मूल्य पनि राम्रै पाएको खड्काको भनाइ छ । अन्य खेती छाडेर खड्काले व्यावसायिक रूपमा सुन्तला र अलैँची खेती गर्दै आउनुभएको छ ।

20221213_0803501671110689-1736250790.jpg

प्रकाशित मिति: आइतबार, वैशाख ६, २०८३  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update