Kakhara सबैको खबर सम्पूर्ण खबर
यो वर्ष सेवा लिन आउने पहिलो २ सेवाग्राहीलाई चौरजहारी नगरपालिकाले गर्‍यो स्वागत 

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले नयाँ आर्थिक वर्ष २०८३/०८४ मा सेवा लिन आउने पहिलो २ सेवाग्राहीलाई स्वागत गरेको छ । नगर कार्यपालिकाको कार्यालयमा पुगेका २ जना सेवाग्राहीलाई स्वागत गर्दै नगरपालिकाले यो वर्षको सेवा सुरु गरेको हो । 

बाख्रा बिरामी भएर नगर पशु सेवा शाखामा सेवा लिन आएका वडा नम्बर ४ का रतिमाने टमाटा र वडा नम्बर ८ का लालबहादुर घर्तीलाई स्वागत गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो । पहिलो सेवा लिन आउने सेवाग्राही द्वयलाई ढकाल सहित नगरका कर्मचारीले दोसल्लाले स्वागत गर्नुभएको हो । 

नयाँ आर्थिक वर्ष २०८३/०८४ साउन १ गतेबाट नै सुरु भएपनि बिदा परेकाले सेवा प्रवाह भने आजबाट सुरु भएको छ । सेवा प्रवाहको पहिलो दिन सेवा लिन आउने सेवाग्राहीलाई स्वागत गरेर नयाँ आर्थिक वर्षको सेवा प्रवाह सुरु गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी गराउनुभयो । 

पहिलो सेवाग्राहीका रूपमा स्वागत हुन पाउँदा टमाटा र घर्तीले खुसी व्यक्त गर्नुभयो । उहाँहरूले यसका लागि नगरपालिकालाई धन्यवाद दिँदै सहज सेवा प्रवाहको अपेक्षा समेत गर्नुभयो । निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले गत वर्षभन्दा यो वर्ष थप राम्रो काम गर्ने प्रण सहित सेवा प्रवाह सुरु भएको बताउनुभयो । 

यो कार्यक्रमले नगरपालिका र सेवाग्राही बिचको सम्बन्धलाई सुमधुर बनाउन सहयोग गर्ने विश्वास गरिएको छ । गत वर्षको समीक्षा सहित नयाँ वर्षमा थप गुणस्तरीय, सहज र सेवाग्राही मैत्री सेवा प्रवाहका लागि नगरपालिका तयार रहेको बताउनुभयो । नगरपालिकाले सहज सेवा प्रवाह र सेवाग्राहीसँगको सम्बन्ध सधैँ सुमधुर बनाउने गरी विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको समेत जानकारी गराउनुभयो ।

प्रकाशित मिति: सोमबार, साउन ४, २०८३  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update