Kakhara सबैको खबर सम्पूर्ण खबर
सगरमाथा वृक्षारोपण महाअभियान: पशुपति माविमा सौन्दर्यमूलक बिरुवा रोपियो  

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर २ मा अवस्थित पशुपति माविमा वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालयको सगरमाथा वृक्षारोपण महाअभियान अन्तर्गत शनिवार विद्यालय परिसरमा विभिन्न प्रजातिका बिरुवा रोपिएको हो । 

प्राकृतिक सौन्दर्य र वातावरण संरक्षणका लागि विद्यालय परिसरमा विभिन्न प्रजातिका सौन्दर्यमूलक बिरुवा रोपिएको वन अधिकृत अनिशा पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार कपूर, वीरेन्द्र फुल, कल्की, मयूर पङ्खी, गुलमोहर र छतिवन गरी ६ प्रजातिका २५ वटा बिरुवाहरू रोपिएको हो । 

मुसिकोट नगरपालिका वडा नम्बर २ का अध्यक्ष दिनेश खड्का, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर खड्का, शिक्षक अभिभावक संघका अध्यक्ष डम्बरबहादुर खड्का, डिभिजन वन कार्यालयका कर्मचारी, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका सदस्य, अभिभावक लगायत वडावासीको उपस्थितिमा वृक्षारोपण सम्पन्न भएको हो । 

विद्यालयमा वृक्षारोपण गरेकोमा विद्यालयले डिभिजन वन कार्यालयलाई धन्यवाद दिएको छ । प्रधानाध्यापक दामोदर गौतमले विद्यालयको सुन्दरता, प्राकृतिक सौन्दर्ययता र वातावरण संरक्षणका लागि यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै धन्यवाद दिनुभयो । साथै उहाँले रोपिएका बिरुवाको संरक्षणमा विद्यालय तथा समुदायले महत्त्वपूर्ण भूमिका खेल्ने समेत बताउनुभयो । 

जिल्लामा असार १४ गतेबाट सगरमाथा वृक्षारोपण महाअभियान सुरु भएको हो । यो अभियान श्रावण मसान्तसम्म चल्ने डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत वसन्तबाबु श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यो अभियान अन्तर्गत १५ हजार बिरुवा रोप्ने लक्ष राखिएको छ ।

अहिलेसम्म विभिन्न १५, २० ठाउँमा गरेर १० हजार विभिन्न प्रजातिका बिरुवा रोपिसकेको उहाँको भनाई छ । वन क्षेत्र, नदी उकास क्षेत्र, विद्यालय, मठ मन्दिर, पार्क लगायतका सार्वजनिक स्थानमा वृक्षारोपण भइरहेको छ । वन क्षेत्रमा काष्ठ तथा गैर काष्ठ र सार्वजनिक स्थानहरूमा सौन्दर्यमूलक र धार्मिक प्रजातिका बिरुवा रोपिरहेको डिभिजनल वन अधिकृत श्रेष्ठको भनाई छ ।

प्रकाशित मिति: शनिबार, साउन १६, २०८३  २२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update