लगातारको वर्षापछि मुसिकोट नगरपालिका–५ सेरीगाउँमा गएको पहिरोबाट भएको क्षतिको प्रमुख जिल्ला अधिकारी निशानराज गौतमको नेतृत्वमा जिल्ला सुरक्षा समितिको टोलीले स्थलगत अनुगमन गरेको छ।
पहिरोले सेरीगाउँको नयाँ बस्ती जोखिममा पर्नुका साथै युग इन्जिनियरिङ वर्कसपको ट्रस्ट भवन क्षतिग्रस्त भएको छ । पहिरोमा दुई वटा ट्र्याक्टर च्यापिएका छन् भने रोलर, मिक्स्चर, एक्स्काभेटर बकेट लगायतका निर्माण सामग्री समेत पुरिएका छन्।
पहिरोका कारण नयाँ बस्तीका वनिता मल्ल, हरिबहादुर सुनार र हेमबहादुर पाण्डेका घर उच्च जोखिममा परेका छन् । करिब १५ घरधुरी रहेको बस्तीमा थप क्षति हुनसक्ने जोखिम देखिएपछि स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ ।
स्थलगत निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी गौतम सहितको सुरक्षा समितिको टोलीले पहिरोको अवस्था, जोखिममा रहेका घर तथा प्रभावित क्षेत्रमा तत्काल गर्नुपर्ने सुरक्षा व्यवस्थाबारे जानकारी लिएको छ । जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने तथा सम्भावित विपद्बाट जनधनको क्षति रोक्न आवश्यक समन्वय र व्यवस्थापन गर्ने विषयमा समेत छलफल गरिएको छ ।
लगातारको वर्षाका कारण पहिरोको जोखिम बढ्दै गएपछि प्रशासनले जोखिमयुक्त क्षेत्रको निगरानी, उद्धार तथा आवश्यक सुरक्षा व्यवस्थालाई प्राथमिकतामा राखेको जनाएको छ ।







-1759842583.jpg)