Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका स्थानीय तहको बेरुजु ३० करोड २३ लाख, कुन स्थानीय तहको कति ? 

आर्थिक वर्ष २०७६/०७७ मा रुकुम पश्चिमका स्थानीय तहमा ठुलो बेरुजु देखिएको छ । ६ स्थानीय तहमा झण्डै साढे ३० करोड बेरुजु निस्किएको छ । महालेखापरीक्षकको ५८ औं वार्षिक प्रतिवेदन, २०७८ अनुसार जिल्लाका स्थानीय तहमा बेरुजु ३० करोड २३ लाख ५५ हजार देखिएको छ । तीन नगरपालिका र तीन गाउँपालिका रहेको जिल्लामा सबैभन्दा बढी त्रिवेणि गाउँपालिकामा र सबैभन्दा कम बेरुजु सानीभेरी गाउँपालिकामा छ । ९१ करोड ६८ लाख ६ हजारको लेखापरीक्षण गरिएकामा त्रिवेणिमा ९ करोड ३ लाख ३ हजार बेरुजु निस्किएको छ । यो लेखापरीक्षण गरिएको कुल बजेटको ९.८३ प्रतिशत हो ।

महालेखा परीक्षाको वार्षिक प्रतिवेदन अनुसार जिल्लामा सबैभन्दा कम सानीभेरी गाउँपालिकाको बेरुजु ०.९९ प्रतिशत मात्र रहेको छ । गाउँपालिकाको ९१ करोड ५९ लाख ३३ हजार बजेटको लेखापरीक्षण गरिएकामा ९० लाख ७० हजार बेरुजु देखिएको छ । बाँफिकोट गाउँपालिकामा १.७९ प्रतिशत बेरुजु देखिएको छ । ६९ करोड ४१ लाख २७ हजारको लेखापरीक्षण गर्दा १ करोड २४ लाख ९ हजार बेरुजु फेला परेको छ । १ अर्ब ३० करोड १५ लाख ५३ हजारको लेखापरीक्षण गर्दा मुसीकोट नगरपालिकामा ५ करोड ३८ लाख ४५ हजार बेरुजु निस्किएको छ । 

स्रोतः महालेखापरीक्षकको कार्यालय ।

यो लेखापरीक्षण गरिएको कुल बजेटको ४.१४ प्रतिशत हो । चौरजहारी नगरपालिकाको बेरुजु ५ करोड ६६ लाख ६४ हजार छ । यो लेखापरीक्षण गरिएको बजेटको ४.९८ प्रतिशत हो । चौरजहारीमा १ अर्ब १५ करोड ९२ लाख ६६ हजारको लेखापरीक्षण भएको थियो । आठबीसकोट नगरपालिकामा ८ करोड ६४ हजार बेरुजु देखिएको छ । आठबीसकोटमा कुल १ अर्व ६३ करोड १६ लाख ९२ हजार बजेटको लेखापरीक्षण गरिएको हो । बेरुजु प्रतिशत ४.९१ प्रतिशत रहेको छ ।

महालेखा परीक्षकको कार्यालयले ५८ औं वार्षिक प्रतिवेदन २०७८ शुक्रबार सार्वजनिक गरेको थियो । यो प्रतिवेदन अनुसार कर्णाली प्रदेशका स्थानीय तहको बेरुजु ३ अर्ब २६ करोड रहेको छ । प्रचलित कानुन बमोजिम पु¥याउनु पर्ने रीत नपुर्याई कारोबार गरेको वा राख्नु पर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले गरेको आर्थिक कारोबार बेरुजु हो ।  
   
 

प्रकाशित मिति: आइतबार, भदौ ६, २०७८  १९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update