Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोटले पहिलो पटक पुरा गर्यो राजश्वको लक्ष 

रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले स्थानीय बनेपछि पहिलो पटक राजश्वको लक्ष पुरा गरेको छ । लगातार तीन वर्ष लिएको लक्ष भन्दा निकै कम मात्र राजश्व उठाएको नगरपालिकाले गत वर्ष भने लक्ष भन्दा बढी राजश्व संकलन गरेको हो । गत आर्थिक वर्ष २०७७/०७८ मा नगरपालिकाले १ करोड ५० लाख राजश्व उठाउने लक्ष लिएकामा १ करोड ७९ लाख ३९ हजार ७ सय ५४ रुपैंया राजश्व उठेको छ । यो लक्ष भन्दा २९ लाख ३९ हजार ७ सय ५४ रुपैंया अर्थात १९.५९ प्रतिशत बढी हो । कुल संकलित राजश्व मध्य १४ वटा वडाबाट ४२ लाख ७ हजार २ सय १६ रुपैंया उठेको हो । 

बाँकी राजश्व नगरपालिकाबाट संकलन भएको नगरपालिकाका राजश्व उपशाखा प्रमुख प्रेमबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार सम्पति कर, घर जग्गा रजिष्ट्रेशन कर, घर बहाल कर, प्रशासनिक सेवा शुल्क, घर अभिलेखिकरण लगायतका विभिन्न शिर्षकमा राजश्व उठेको छ । सम्पति कर २२ लाख ३० हजार ४ सय ९ रुपैंया, घर जग्गा रजिष्ट्रेशन कर ४९ लाख ४ हजार ६ सय ६० रुपैंया, घर बहाल २१ लाख ६७ हजार ५४ रुपैंया, प्रशासनिक सेवा शुल्क २२ लाख ३० हजार ३ सय ८४ र घर अभिलेखिकरण तथा नक्सापास दस्तुर ८ लाख ४० हजार २ सय १० रुपैंया संकलन भएको छ । 

अन्य राजश्व तर्फ १३ लाख १३ हजार २ सय ४० रुपैंया, ढुंगा–गिट्टी–बालुवा बिक्रिबाट १५ लाख ३१ हजार १ सय ९१ रुपैंया उठेको खड्काले बताउनुभयो । लक्ष अनुसार राजश्व नउठेपछि नगरपालिकाले गत वर्ष लक्ष घटाएको थियो । आर्थिक वर्ष २०७६÷०७७ मा नगरपालिकाले २ करोड ५० लाख राजश्व उठाउने लक्ष लिएकामा १ करोड १९ लाख मात्र राजश्व उठाउन सकेको थियो । त्यसपछि नगरपालिकाले गत वर्षका लागि लक्ष घटाएर डेढ करोडमा पुर्याएको थियो । नगरपालिकाले चालु आर्थिक वर्ष २०७८/०७९ मा भने ३ करोडको लक्ष लिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, भदौ १७, २०७८  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update