Kakhara सबैको खबर सम्पूर्ण खबर
सहिद स्मृति नगर अस्पतालमा छुटैछुट
चाैरजहारी नगरपालिका खाेलागाउँ स्थित सहिद स्मृति अस्पताल ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले १० नम्बर वडाको खोलागाउँमा सञ्चालन गरिरहेको सहिद स्मृति नगर अस्पतालले विभिन्न व्यक्तिलाई निःशुल्क उपचारको व्यवस्था गर्ने भएको छ । अस्पताल सञ्चालनका सन्दर्भमा नगरपालिकाको बैठकले अस्पताल सञ्चालन कार्यविधि २०७७ र आर्थिक कार्यविधि २०७७ को अनुसूचि १२ क बमोजिम सेवा शुल्क निर्धारण गरिएको छ ।

उक्त बैठकका अनुसार नगर अस्पतालमा उपचारका लागि आउने चौरजहारी नगरपालिमा बसोबास गर्ने सहिदका आमा,बुवा, श्रीमान, श्रीमती, छोरा र छोरीलाई निःशुल्क उपचारको व्यवस्था गरिएको छ । त्यसका लागि नगरपालिकाले स्वास्थ्य बीमा गरिदिने र त्यसैबाट सेवा शुल्कमा पूर्ण छुट दिने निर्णय गरेको हो ।

जनयुद्धका घाइते, क र ख वर्गको अपांगता परिचय पत्र पाएका सबैको स्वास्थ्य बीमा गराइदिने र त्यस मार्फत ५० प्रतिशत छुटमा उपचार सेवा प्रवाह गर्ने निर्णय पनि गरपालिकाले गरेको छ । अति विपन्न, गरीब, असहायको पनि स्वास्थ्य बीमा गराइदिएर पूर्ण छुट र सुत्केरी हुनका लागि बाहिर प्रेषण गर्नुपर्ने गर्भवतीलाई निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने निर्णय गरिएको नगरप्रमुख विशाल शर्माले जानकारी दिनुभयो ।

दुई वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार, कोभिड लागेका विरामीको प्रेषण सेवा पनि निःशुल्क गर्ने गरी निर्णय गरेको उहाँले बताउनुभयो । गर्भवति महिलाको सबै प्रकारको सेवा निःशुल्क गराउने पनि निर्णय गरिएको छ । उक्त बैठकले अस्पताल सञ्चालक समिति समेत गठन गरेको छ । अध्यक्षमा नगर उपप्रमुख राधा रोका, सदस्यमा १० नम्बर वडाध्यक्ष धरमबहादुर केसी, टिकाराम ओली,डिला महतरा,डण्डप्रसाद शर्मा, निमबहादुर बुढाथोकी र सदस्य सचिवमा चुडामणि केसीलाई तोकिएको छ । 
 

प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८  १८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update