Kakhara सबैको खबर सम्पूर्ण खबर
असोज ४ देखि त्रिवेणिका विद्यालय खुल्ने

रुकुम पश्चिमको त्रिवेणि गाउँपालिकाका विद्यालयमा असोज ४ गतेदेखि पठन पाठन हुने भएको छ । गाउँपालिका स्तरीय कोभिड १९ रोकथाम तथा नियन्त्रण समितिको बैठकले लामो समयदेखि बन्द रहेका विद्यालयमा असोज ४ गतेदेखि भौतिक उपस्थितिमै पठन पाठन गराउने गरी निर्णय गरेको हो ।

उक्त समितिको बैठकले असोज २६ देखि कात्तिक २१ गतेसम्म चाडपर्व विदा गरी फेरि कात्तिक २२ गतेदेखि विद्यालय सञ्चालन गर्ने गरी तालिका बनाएको छ । त्यसपछिका कुनै दिन पनि विद्यालय बन्द नगर्ने निर्णय भएको समितिका सदस्य सचिव तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश पुनले जानकारी दिनुभयो । उहाँका अनुसार यस अघि बन्द रहेको अस्पतालको ओपीडि तथा आइपीडि सेवा सञ्चालन गर्ने निर्णय पनि भएको छ ।

खारानेटा स्थित गाउँपालिका अस्पतालमा असोज १ गतेदेखि पूर्ववत स्वास्थ्य सेवा प्रवाह हुने छ । उक्त अस्पतालका २ कोठामा कोभिड उपचारको व्यवस्थापन गर्ने र सुत्केरी लगायतका सम्पूर्ण सेवा नियमित गर्ने निर्णय भएको पुनले बताउनुभयो । उक्त समितिको बैठकले सम्पूर्ण क्षेत्रमा स्वास्थ्य मापदण्डको पूर्ण पालना, विद्यालय बाहेकका अन्य ठाउँमा भिडभाड हुने, देउसीभैलो जस्ता कार्यक्रम बन्द गराउने निर्णय पनि गरेको छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update