Kakhara सबैको खबर सम्पूर्ण खबर
राजनीतिक र संघसंस्थाका कार्यक्रममा सहभागी हुने शिक्षकलाई मुसीकोटले कारवाही गर्ने 

रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले शिक्षकहरुलाई राजनीतिक र संघसंस्थाका कार्यक्रममा सहभागी नहुन निर्देशन जारी गरेको छ । शिक्षकहरु विद्यालय समयमा समेत राजनीतिक दलका कार्यक्रममा सरिक हुने, अन्य क्षेत्रमा कामकाज गर्ने, नियमानुसार विदा स्वीकृत नगराई विद्यालयमा अनुपस्थित हुने गरेको गुनासो आएको भन्दै नगरपालिकाले त्यसो नगर्न निर्देशन जारी गरेको हो ।

नगरपालिका, नगर कार्यपालिकाको कार्यालय र शिक्षा, युवा तथा खेलकुद शाखालाई कुनै जानकारी नै नदिई, अनुमती नै नलिई अन्य संघ संस्था र निकायका कार्यक्रममा सहभागी हुने लगायतका गतिविधिमा सरिक भएको गुनासो आएको नगर शिक्षा शाखा प्रमुख बिनाराम खड्काले बताउनुभयो ।

कोरोना भाइरस महामारीका कारण लामो समयदेखि पठन पाठन बन्द रहेको र ढिलो गरी बिद्यालय खुल्दा पनि बिद्यालय समयमा शिक्षकहरु राजनीतिक तथा विभिन्न संघसंस्थाको कार्यक्रममा सहभागी भएको गुनासो आएको र अव पनि त्यस्तो पाईएमा कारवाही प्रक्रिया अगाडि बढाउने नगर शिक्षा, युवा तथा खेलकुद शाखाले चेतावनी दिएको छ ।

विद्यालयबाट नियमानुसार विदा स्वीकृती नगराई विद्यालयमा अनुपस्थित नहुन, विद्यालय समयमा राजनीतिक दलका कार्यक्रममा सहभागी नहुन, कुनै पनि राजनीतिक दलको कार्यकारिणी समितिमा सदस्य वा पदाधिकारी नहुन, शिक्षण सिकाइ सम्बन्धी वा शिक्षण सिकाइलाई सहयोग पुर्याउने कार्यमा नगरपालिकाको अनुमति लिएर बाहेक अन्यत्र संघ, संस्था, निकायका गतिविधिमा सरिक नहुन, नगराउन जारी निर्देशनमा भनिएको छ ।

शिक्षा ऐन २०२८ (संशोधन सहित) को १६ (ङ) र मुसीकोट नगरपालिका शिक्षा ऐन, २०७४ को दफा १९ शिक्षक कर्मचारीको पदीय आचरण प्रतिकुल गतिविधि गरेको पाइएमा नियमानुसार कारवाही हुने शिक्षा शाखा प्रमुख खड्काले जारी गरेको सूचनामा उल्लेख छ । 
 
 

प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८  १४:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update