Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारीका कृषकलाई मासिक एक हजार पेन्सन 
त्रिवेणि गाउँपालिका ९ का कृषक आफ्नो बारीमा फलेको आलु देखाउदै ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले कृषकलाई पेन्सन दिने भएको छ । व्यवशायिक कृषि पेशामा रहेका कृषकलाई नगरपालिकाले मासिक एक हजार पेन्सन दिने भएको हो । चालु आर्थिक वर्षका लागि गत वर्ष नै पास भएको नीति, कार्यक्रम र बजेटमा कृषक पेन्सन कार्यक्रमलाई समावेश गरिएको थियो । 

नगरपालिकाले उक्त कार्यक्रमलाई कार्यान्वयन गर्न लागेको हो । नगरपालिकाले कृषक पेन्सन कार्यक्रम संचालन कार्यविधि निर्माण गरिसकेको छ । जसअनुसार हाल कृषक छनौटको प्रक्रिया चलिरहेको छ । कृषक छनौट अन्तरगत नगरपालिकाले अहिले आवेदन आह्वान गरेको छ । कार्यविधिमा व्यवस्था भएको मापदण्ड भित्र पर्ने कृषकहरुले आवेदन दिनसक्ने नगरपालिकाले जनाएको छ । 

पेन्सनका लागि आफ्नै वा जमिन भाडामा लिएर न्यूनतम ३ रोपनी जमिनमा व्यवसायीक तरकारी खेती, पुष्प खेती गरेको वा फलफूल नर्सरी स्थापना गरेको, आफ्नै वा जमिन भाडामा लिएर न्यूनतम ५ रोपनीमा खाद्यान्न तथा तरकारीको वीउ उत्पादन गरेको र आँप, केरा, लिची लगाएतका फलफुलको ५ रोपनीमा बगैंचा स्थापना गरेका कृषकले पेन्सन पाउने नगर प्रमुख विशाल शर्माले जानकारी दिनुभयो । 

उहाँका अनुसार कम्तिमा २५ माउ भेडा वा बाख्रा व्यवसायीक रुपमा पालेको, कम्तिमा ३ वटा दुध दुहुने भैसी वा उन्नत जातका गाई पालेको, कम्तिमा ५०० वटा लेयर्स वा ब्रोइलर कुखुरा वा १०० वटा लोकल कुखुरा वा कालिज वा टर्की वा २५० वटा बट्टाई नियमित रुपमा पालेको, कम्तिमा १० वटा माउ बंगुर पालेको र कृषि व्यवसायलाई मूख्य पेशाको रुपमा अपनाई निरन्तर ५ बर्षदेखि कृषि पेशामा संलग्न भएको वा अव कृषि व्यवसाय गर्ने योजना सहित कृषि पेशामा संलग्न भएको कृषकले पनि पेन्सन पाउने छन् ।

पेन्सनका लागि चौरजहारी नगरपालिकाको स्थायी वासिन्दा हुनुपर्ने छ । मापदण्ड भित्रका कृषकले पेन्सनका लागि आवेदन दिनसक्ने र छनौट समितिले मापदण्ड पुगेका कृषकलाई छनौट गर्ने नगर प्रमुख शर्माको भनाई छ । व्यवसायीक कृषि पेसामा लागेका कृषकलाई सधैभरी पेन्सनको परिकल्पना गरिएको उहाँले बताउनुभयो । 

प्रत्येक चौमासिकमा पेन्सन खातामा राख्ने र खातामा राख्नु अघि व्यवशाय गरिरहेको छ कि छैन् भनेर नगरपालिकाले अनुगमण गर्ने छ । यदी व्यवशाय छोडेको भए पेन्सन रोक्का हुने छ । नियमित कृषि व्यवशायमा रहेकालाई भने निरन्तर पेन्सन उपलब्ध गराईने नगरपालिकाको भनाई छ । 

पेन्सनका लागि चालु आर्थिक वर्ष २०७८÷०७९ मा ५ लाख बजेट विनियोजन गरिएको नगर कृषि शाखा प्रमुख बिमल खड्काले बताउनुभयो । पेन्सनका लागि कोष खडा गर्ने र त्यसमा रकम जम्मा गर्ने कार्यविधिमा उल्लेख रहेको उहाँले बताउनुभयो । कृषक संख्याका आधारमा पेन्सन रकमको व्यवस्थापन गर्दै जाने खड्काले बताउनुभयो ।। 


 

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update