Kakhara सबैको खबर सम्पूर्ण खबर
जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र खलंगा बजारमै

जिल्ला आयुर्वेद अस्पताल खलंगा बजारमै हुने भएको छ । मुसीकोट नगरपालिका–१, को कार्यालयमुनिको कोठामा जिल्ला आयुर्वेदिक शाखा सञ्चालनको तयारी गरिएको छ । अबको एक/दुई दिनमै जिल्ला आयुर्वेद अस्पतालले खलंगाबाटै सेवा प्रवाह गर्ने वैद्य युवा केसीले जानकारी दिनुभयो ।

सबैको सरसल्लाहमा १ नम्बर वडा कार्यालयको तल्लो तलामा कार्यालय र अस्पताल सञ्चालनको तयारी भइरहेको वैद्य केसीले बताउनुभयो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालनका सन्दर्भमा बैठक समेत बसेको थियो । बैठकले हाललाई १ नम्बर वडाको तल्लो तलामा राख्ने गरी निर्णय गरेको हो ।

जिल्ला समन्वय समिति उपप्रमुख इन्दिरा बुढा मगर, मुसीकोट नगरप्रमुख देविलाल गौतम, प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे लगायतको बैठकले जिल्ला अस्पतालमा रहेको आयुर्वेद स्वास्थ्य केन्द्रलाई खलंगा बजार ल्याउने निर्णय गरेको थियो । हाल कार्यालय व्यवस्थापनको काम भइरहेको छ । साविकको आयुर्वेद स्वास्थ्य केन्द्र स्वास्थ्य सेवा कार्यालयमा गाभिएको थियो ।

चौरजहारीमा रहेको यो केन्द्र स्वास्थ्य सेवा कार्यालयमा गाभिएपछि खलंगा ल्याइएको थियो । २०७६ भदौ ६ गतेको कर्णाली प्रदेश सरकारको बैठकले जिल्ला अस्पताल जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रलाई एउटै छानामुनि राख्ने र एकीकृत सेवा प्रवाह गर्ने गरी निर्णय गरेको थियो ।

त्यसका विरुद्ध परेको रिटमाथी सुनुवाई गर्दै अदालतले उक्त निर्णय कार्यान्वयन नगर्नु भनेपछि आयुर्वेद स्वास्थ्य केन्द्र यता सारिएको हो । अदालतले उक्त रिटमाथी २०७७ को चैत्र २६ गते अन्तरिम आदेश दिएको थियो । साविकको आयुर्वेद स्वास्थ्य केन्द्रको भवन चौरजहारीमा हाल कोरोना भए नभएको परीक्षण गर्ने आरटीपिसिआर मेशिन राखिएको छ । 
 

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update