रुकुम पश्चिमका झण्डै तीन हजार छोरीको बैंक खाता खोलिएको छ । ६ वटै स्थानीय तहले बैंक खाता छोरीको सुरक्षा जीवन भरीको कार्यक्रम अन्तर्गत २ हजार ८ सय ७५ जना छोरीको खाता खोलिएको हो । मुसीकोट, चौरजहारी र आठबीसकोट नगरपालिकाले छोरी खाता खोलेका छन् । बाँफिकोट, सानीभेरी र त्रिवेणि गाउँपालिकाकाले पनि छोरी खाता खोलेका छन् । सम्बन्धित स्थानीय तहमा रहेका बैंकमा छोरी खाता खोल्ने गरिएको छ ।
त्रिवेणि गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश पुनले प्रदेश सरकारबाट प्राप्त बजेटबाट खाता खोल्ने र रकम जम्मा गर्ने गरिएको बताउनुभयो । हालसम्म सबैभन्दा बढी मुसीकोट नगरपालिकाका छोरीको खाता खोलिएको छ ।
मुसीकोटमा ५ सय ९४ जना छोरीको खाता खोलिएको छ । सानीभेरी गाउँपालिकामा ५ सय २८ जना छोरीको खाता खोलिँदा चौरजहारी नगरपालिकाका ५ सय छोरीको खाता खुलेको छ । त्रिवेणि गाउँपालिकामा ४ सय ८२ जना छोरीको खाता खुलेको छ भने आठबीसकोट नगरपालिकामा ४ सय १४ र बाँफिकोटका ३ सय ५७ छोरीको खाता खोलिएको छ ।
स्थानीय तहकाे नाम |
जम्मा खाता |
रकम जम्मा भएका खाता |
याे वर्ष खुलेका खाता |
मुसीकाेट नगरपालिका |
५९४ |
४२८ |
१६६ |
चाैरजहारी नगरपालिका |
५०० |
३२० |
१८० |
आठबीसकाेट नगरपालिका |
४१४ |
३३९ |
७५ |
बाँफिकाेट गाउँपालिका |
३५७ |
२५९ |
९८ |
सानीभेरी गाउँपालिका |
५२८ |
४०३ |
१२७ |
त्रिवेणि गाउँपालिका |
४८२ |
२३० |
२५५ |
२०७६ साल साउन १ गते वा त्यो भन्दा पछि जन्मेका हरेक छोरीको खाता खोल्ने र रकम जम्मा गर्ने गरिएको छ । सुरुको महिना एक हजार र त्यसपछिका हरेक महिना ५ सयका दरले रकम जम्मा गरिदिने गरिएको छ । विभेद हटाउने, शिक्षाको ग्यारेन्टी र उमेर पुगेपछि मात्रै विहेवारीको अवधारणा अनुसार यो कार्यक्रम सुरु गरिएको हो ।
छोरीप्रति हुने विभेद घटाउने, माध्यामिक तहसम्मको अध्ययनको ग्यारेन्टी गर्ने र विहेबारी २० वर्ष पारी गराउने उद्देश्यले कार्यक्रम सुरु गरिएको सामाजिक विकास कार्यालयका प्रमुख धनन्जय आचार्यले जानकारी दिनुभयो । आचार्यका अनुसार कार्यक्रम सुरु भएपछि यो अवस्था सुधार हुँदै गएको छ ।
अब जिल्लामा सफ्टवयरबाट अभिलेख प्रणाली व्यवस्थित गरिने र प्रतिवेदनलाई पनि सहज गर्न लागिएको आचार्यले जानकारी दिनुभयो । अभिलेख व्यवस्थापन र प्रतिवेदन सजिलो हुने उहाँको भनाई छ । अब हरेक स्थानीय तहले सामाजिक विकास कार्यालयमा प्रतिवेदन दिनेछन् भने सामाजिक विकास कार्यालयले एकमुष्ट प्रतिवेदन मन्त्रालयमा पठाउने छ ।