Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोट १० का डेढसय पशुलाई रेविज विरुद्धको खोप 

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १० का डेढसय पशु चौपायालाई रेविज विरुद्धको खोप लगाइएको छ । बहुला कुकुरले टोकेका पशु चौपाया मर्न थालेपछि स्थानीय अन्य पशु चौपायालाई रेविज विरुद्धको खोप दिइएको हो । 

उक्त कुकुरले टोकेको घरमा रहेका अन्य पशु र गाउँभरीका कुकुरलाई खोप लगाइएको वडाध्यक्ष धनवहादुर खड्काले जानकारी दिनुभयो । गत भाद्र ११ गते वडाको गलमपाटी टोलमा बहुला कुकुरले मान्छे तथा केही पशु चौपायालाई टोकेको थियो । 

उक्त कुकुरको टोकाइबाट घाइते भएका २ गोरु, एक गाई, एक भैंसी र ४ वटा कुकुर मरेको वडाध्यक्ष खड्काले बताउनुभयो । कुकुरले टोकेका केही पशु मरेको र केही बिरामी परेपछि स्थानीय त्रसित भएका छन् । थप क्षेति हुन नदिनका लागि वडाको पहलमा गाउँमै शिविर संचालन गरेर रेविज विरुद्धको खोप लगाइएको वडाध्यक्ष खड्काको भनाइ छ । 

नगरको पशु शाखाले टोलमै गएर सोमबार शिविर संचालन गरेको हो । बहुला कुकुरले टोकेको पशुको सम्पर्कमा रहेका केही स्थानीयले भने केही दिन अघि जिल्ला अस्पतालमा आएर खोप लगाएका थिए । गाउँमा त्रास फैलिएपछि बिरामी पशु चौपाया रहेका घरका स्थानीय स्वास्थ्य सेवा कार्यालय पुगेका थिए ।

जसमध्ये शंकास्पद ९ जनाले रेविज विरुद्धको खोप लगाएका थिए । स्वास्थ्यकर्मीले सतर्कता अपनाउन र नआत्तिन आग्रह गरेका छन् ।
 

प्रकाशित मिति: बुधबार, असोज ५, २०७९  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update