Kakhara सबैको खबर सम्पूर्ण खबर
भूमे र निसिखोला गाउँपालिकाको सिमा विवाद मिलाउन कार्यदल
भूमे गाउँपालिकामा आयोजित समन्वय बैठकमा सहभागिहरु ।

रुकुम पूर्वको भूमे गाउँपालिका र बाग्लुङको निसिखोला गाउँपालिकाबीचको सिमा विवाद चैत्र महिना भित्रै समाधान हुने भएको छ । विवाद समाधानका लागि दुवै गाउँपालिकाले कार्यदल गठन गरेका छन् । शनिबार भूमे गाउँपालिकाको कार्यालयमा दुवै गाउँपालिकाको तर्फबाट आयोजना गरिएको समन्वयात्मक बैठकले विवाद समाधानका लागि कार्यदल गठन गरेको हो ।

प्रतिनिधि सभा सदस्य कमला रोका, लुम्बिनी प्रदेश सभा सदस्य तेजबहादुर ओली, गण्डकी प्रदेश सभा सदस्य खिमविक्रम शाही, दुवै जिल्लाका जिल्ला समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी समेतको बैठकले कार्यदल गठन गरेको हो । कार्यदलमा दुवै गाउँपालिका अध्यक्ष, सम्बन्धित वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, दुवै जिल्लाका नापि कार्यालयका प्रतिनिधि तथा विवादित दुवै जिल्लाका वडाका एक/एक जना सर्वसाधारण सदस्य रहेको कार्यदल गठन गरेको हो । 

कार्यदलले चैत्र महिना भित्र सम्पूर्ण विवाद समाधान गर्ने छ । कार्यदलको बैठकको अध्यक्षता दुवै गाउँपालिका अध्यक्षले पालै पालो गर्नुहुनेछ । सिमाको विवाद मिलानका लागि सम्बन्धित क्षेत्रमा पुग्ने लगायतको जिम्मेवारी कार्यदलले पाएको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले जानकारी दिनुभयो । भूमे गाउँपालिकाकाको १, र निसिखोला गाउँपालिकाको ५ र ६ नम्बर वडाबीच सिमा विवाद रहेको उहाँले बताउनुभयो ।

पर्यटकीय क्षेत्र भएकाले त्यस क्षेत्रमा विकासको प्रयास गर्दा दुवै पक्षबाट अवरोध भएको थियो । भूमे गाउँपालिकाले प्रवेशद्धार बनाउन लाग्दा निसिखोला गाउँपालिकाले अवरोध गरेको थियो भने सडक निर्माणको क्रममा भूमे गाउँपालिकाले सहमति दिएको थिएन । त्यसपछि दुवै गाउँपालिकाले विवादित ठाउँमा थप काम गरेका थिएनन् । बैठकमा भूमे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिङ श्रेष्ठले सिमा आसपासका ठाउँ र तिनका सम्भाव्यताबारेको अध्ययन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त प्रतिवेदनमा सिमा विवाद मिलेपछि के गर्न सकिन्छ र त्यसबाट हुने लाभ र बनाउनुपर्ने संरचना, व्यवस्थापन लगायतका कुरा समेटिएका थिए । 

पातिहाल्ना अर्थात इरनेटा,रिगलताल, तिलाचन ताल, चमेलीखर्क, ऐसुलखर्क, चौरीखर्क लगायतका क्षेत्र पर्यटन विकासका लागि महत्वपूर्ण छन् । त्यसका लागि दुवै गाउँपालिकाले लगानी गर्नुपर्ने भूमे गाउँपालिका अध्यक्ष बुढाको भनाई छ । ‘नचाहेर पनि ति क्षेत्र प्रयोग गर्दा दुवै गाउँपालिका पर्छन्, यसैले पनि लगानी गर्नेर व्यवस्थित गर्नेतर्फ दुवै गाउँपालिका लाग्नुपर्छ भन्ने हाम्रो धारणा छ,’ अध्यक्ष बुढाले भन्नुभयो । पटक पटकको छलफलपछि विवाद समाधानउन्मुख भएको अध्यक्ष बुढाको भनाई छ ।

विवाद समाधानका लागि भूमेको १ तथा निसिखोलाको ५ र ६ वडाका साथै गाउँपालिका पनि सकारात्मक रहेको उहाँले बताउनुभयो । निसिखोला गाउँपालिका अध्यक्ष तारानाथ शर्माले संघीयतापछि आएको अधिकार कार्यान्वयनको क्रममा देखिएको विवाद अब समाधान हुने विश्वास व्यक्त गर्नुभयो । विवाद समाधानका लागि दुवै गाउँपालिका सकारात्मक रहेकाले यो विवाद लामो नजाने उहाँको भनाई छ । विवाद समाधान गरेर महत्वपूर्ण ठाउँको उपयोग गरेर विकास र आम्दानीतर्फ जोड्ने योजना रहेको अध्यक्ष शर्माकाे भनाई छ ।

प्रतिनिधि सभा सदस्य कमला रोकाले विवादलाई जनवादी तवरले मिलाउन प्रयास भइरहेकोप्रति खुसी व्यक्त गर्नुभयो । काम गर्ने क्रममा आइपरेका असजिलोलाई सजिलो बनाएर विकास निर्माणलाई गति दिन उहाँको आग्रह छ । विकासका लागि विवाद देखिएको भएपनि काम गर्दै जाँदा त्यो पनि पूरा हुँदै जाने भन्दै रोकाले यसका लागि आवश्यक परेपछि थप समन्वय र छलफल गर्न गराउन पनि सबैसित अनुरोध गर्नुभएको छ ।

प्रकाशित मिति: शनिबार, फागुन १५, २०७७  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update