
रुकुम पूर्वबाट प्रदेश सभा र प्रतिनिधि सभाका नव निर्वाचित सांसद्लाई प्रमाण–पत्र प्रदान गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहीबार रुकुमकोटमा कार्यक्रम आयोजना गरी जिल्लाबाट निर्वाचित हुनु भएका प्रतिनिधि सभा र प्रदेश सभाका सांसद्लाई प्रमाण–पत्र प्रदान गरिएको हो ।
प्रतिनिधिसभामा निर्वाचित नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती मगर, प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ स्वतन्त्रबाट निर्वाचित सुरुल पुन मगर र निर्वाचन क्षेत्र नम्बर २ नेपाली कांग्रेसबाट निर्वाचित धनबहादुर केसीलाई प्रमाण–पत्र प्रदान गरिएको हो ।
नव निर्वाचित सांसद्लाई मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेले प्रमाण–पत्र प्रदान गर्नुभएको हो । यस्तै निर्वाचनलाई सफल बनाउन महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने प्रमुख जिल्ला अधिकार तुलाराज सुनुवारसँगै सुरक्षा निकायका प्रमुखलाई पनि सम्मान पत्र प्रदान गरिएको छ । मुख्य निर्वाचन अधिकृत घिमिरेको अध्यक्षतामा भएको प्रमाण–पत्र प्रदान कार्यक्रमको प्रमुख अतिथिमा जिल्ला समन्वय समिति रुकुमपूर्वका प्रमुख मेघबहादुर श्रेष्ठको रहेको थियो । कार्यक्रममा पहिलो संविधान सभाका सांसद् जुनकुमारी रोका, पूर्व सहायक मन्त्री केशरमान रोका मगर, जिसस रोल्पाका प्रमुख सिता आचार्य, जिसस रुकुमपूर्वका उपप्रमुख मोहनबहादुर केसी, पुथाउत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्ती मगर, भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठ, सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मी एवम् विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि लगायत अन्य व्यक्तित्वहरूको उपस्थिति रहेकोमा कार्यक्रमको सञ्चालन जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले गर्नुभएको थियो ।
तस्बिरहरूः