Kakhara सबैको खबर सम्पूर्ण खबर
आठबीसकोट तीनलाई नमुना बनाउन प्रत्येक महिना श्रमदान 
श्रमदानमा सहभागी वडावासी ।

रुकुम पश्चिमको एक वडालाई नमुना वडा निर्माण गर्न प्रत्येक महिनाको २ गते श्रमदान अभियान सञ्चालन गरिएको छ । जिल्लाको आठबीसकोट नगरपालिका वडा नम्बर ३ ले वडालाई नमुुना बनाउन प्रत्येक महिनाको २ गते श्रमदान अभियान चलाएको हो । श्रमदान अभियानलाई वडाको संस्कारको रुपमा विकास गर्न खोजिएको वडा अध्यक्ष केशरमान विकले जानकारी दिनुभयो । 

उहाँका अनुसार यसअघि पनि श्रमदान कहिले कसो हुने गरेको थियो । तर भदौ २ गते देखि भने वडाको संस्कारको रुपमा प्रत्येक महिनाको २ गते  अभियानको रुपमा श्रमदान अभियान सुरु गरिएको छ । वडाको आवस्यकता अनुसार वडा र स्थानीयको सहभागितामा श्रमदान गरिने वडाध्यक्ष विकले जानकारी दिनुभयो । वडा र स्थानीय विच छलफल गरेर महिनाको एक दिन निःशुल्क श्रमदान गर्ने निर्णय गरिएको उहाँको भनाई छ । 

श्रमदान सुरु गरेको पहिलो दिन वडाको डाडाँमती, सल्लेरी, तलिगाउँ, माथिगाउँ, सुल्कीबाङ, लेटिलेक लगायतका टोलहरुबाट स्थानीयको सहभागितामा दिनभर सरसफाई, वर्षाले विगारेको बाटो मर्मत, नहर सफा लगाएतका काम गरिएको छ । त्यस्तै बाटो आसपास फालिएका प्लाष्टिक नष्ट गर्नुका साथै वर्षातको समयमा खानेपानीका पाईप लाईनमा क्षति भएको ठाउँमा मर्मत गरिएको वडा अध्यक्ष विकले बताउनुभयो ।

नमुना वडा निर्माण गर्न स्थानीयको सहयोग आवस्यक पर्ने भएकाले श्रमदान अभियान थालिएको उहाँको भनाई छ । उहाँका अनुसार अवदेखि प्रत्येक महिनाको २ गते वडा र स्थानीयको सहयोगमा सरसफाई, पुर्वाधार निर्माण, करेसाबारी निर्माण, व्यवस्थित शौचालय निर्माण, खानेपानीका पक्की धारा निर्माण, भाँडा सुकाउन मच्याङ निर्माण जस्ता कार्यहरु सञ्चालन गरिने छ । नमुना वडा निर्माण गर्न सञ्चालन गरिएको श्रमदानमा वडावासीको राम्रो सहभागिता रहेको वडाले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update