एकीकृत निजामती सेवा ऐन लगायतका माग सहित स्थानीय तहका कर्मचारी आन्दोलित हुँदा सेवा प्रवाह ठप्प भएको छ । रुकुम पश्चिमका ६ वटै स्थानीय तहमा कार्यरत कर्मचारीहरू पनि आन्दोलित भएका छन् । जसका कारण स्थानीय तहको नियमित सेवा अवरुद्ध भएको छ । देशका ७ सय ५३ वटै स्थानीय तहका कर्मचारीहरू असोज १९ गते देखि अनिश्चितकालिन पेन डाउन गर्दै आन्दोलित भएका छन् ।
केन्द्रीय कार्यक्रम अनुसार आफूहरू पनि आन्दोलित भएको स्थानीय तह सङ्घर्ष समिति त्रिवेणी गाउँपालिकाका संयोजक खीमबहादुर ओलीले बताउनुभयो । बुधबार पाँचौँ दिन पनि कर्मचारीहरू आन्दोलित छन् । अधिकांश कर्मचारी राजधानी काठमाडौँमा पुगेर आन्दोलन गरिरहेका छन् भने काठमाडौँ नगएका कर्मचारीहरूले स्थानीय तहमै सेवा ठप्प पारेर आन्दोलन गरिरहेका छन् । आफ्ना मागहरू पुरा नभएसम्म आन्दोलन जारी रहने संयोजक ओलीले बताउनुभयो । अन्य स्थानीय तहमा पनि नियमित सेवा ठप्प पारेर कर्मचारीहरू आन्दोलित छन् । वडा तहसम्मकै सेवा ठप्प छन् ।

स्थानीय तहका कर्मचारीहरूले सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गरिनुपर्ने, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनुपर्ने, स्थानीय तहका कर्मचारीहरूलाई निजामतीको परिभाषा भित्र समेटिनुपर्ने र बिना सहमति स्थानीय तहमा चक्रीय प्रणालीमा सरुवा गरिनुपर्ने माग गरेका छन् ।
त्यस्तै समायोजनका कर्मचारीहरूको उचित व्यवस्थापन गरिनुपर्ने, तीनै तहका कर्मचारीको समान वृत्ति विकासको व्यवस्था हुनुपर्ने र स्थानीय तहका कर्मचारीहरूको कल्याण कोषको अनिवार्य व्यवस्था हुनुपर्ने लगायतका माग स्थानीय तहका कर्मचारीहरूले राखेका छन् । कर्मचारीको आन्दोलनका कारण सेवा प्रवाह रोकिदा सेवाग्राही मारमा परेका छन् । स्थानीय तहबाट सेवा प्रवाह रोकिदा विभिन्न सेवाका लागि पालिका पुग्ने सेवाग्राही रित्तो हात फर्किन बाध्य छन् ।






-1759842583.jpg)