Kakhara सबैको खबर सम्पूर्ण खबर
यस्ता वडाध्यक्ष जो सुत्केरीलाई स्याहार खर्च लिएर घर घरमा पुग्छन् 

गत वर्षको स्थानीय तहको चुनाव पछि रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १२ का सुत्केरी आमाहरूले घरमै  सुत्केरी स्याहार खर्च पाउन थालेका छन् । वडाका सुत्केरी आमाहरूले घरमै आफ्नो र बच्चाको लागि स्याहार खर्च पाइरहेका हुन । वडाध्यक्ष धिरन शिर्पालीकाे व्यक्तिगत लगानीमा स्याहार खर्च उपलब्ध बनाउँदै आइएको छ । गत साल २०७९ वैशाखको स्थानीय तहको निर्वाचनमा विजय भई पदभार ग्रहण गर्ने बेला वडाध्यक्ष शिर्पालीले सुत्केरीलाई स्याहार भत्ता दिने घोषणा गर्नुभएको थियो । सोही घोषणा अनुसार वडा अध्यक्ष शिर्पालीले व्यक्तिगत सेवा सुविधाबाट प्राप्त हुने रकमबाट घर घरै पुगेर सुत्केरी आमाहरूलाई स्याहार खर्च दिँदै आउनुभएको छ । 

उहाँले पदभार ग्रहण गरे देखि हालसम्म वडाका ४१ जना सुत्केरी आमाहरूलाई स्याहार खर्च उपलब्ध बनाइसक्नुभएको छ । बच्चा जन्मेको एक महिना भित्र सुत्केरी आमाको घरमा पुगेर आमा र बच्चाको स्याहारको निम्ति आफ्नो व्यक्तिगत तर्फबाट ३ हजार रुपैयाँका दरले खर्च उपलब्ध बनाउँदै आएको वडाध्यक्ष शिर्पालीले जानकारी दिनुभयो । सुत्केरी आमा र बच्चाको स्याहार खर्च वितरण गर्दा वडाबाट स्वास्थ्यकर्मी सहितको समूह घरमै पुगेर स्वास्थ्य अवस्थाको चेकजाँच गर्नुका साथै स्वास्थ्य परामर्श समेत दिने गरेको उहाँको भनाई छ । निर्वाचित भएपछि हालसम्म वडाका ४१ जना सुत्केरी आमा, एक जना मुटु रोगी र एक जना मिर्गौला पीडित व्यक्तिलाई व्यक्तिगत रुपमा आर्थिक सहयोग गरिएको वडाध्यक्ष शिर्पालीले जानकारी दिनुभयो ।

वडाध्यक्ष शिर्पालीका अनुसार हालसम्म सुत्केरी आमालाई स्याहार खर्च बापत १ लाख २३ हजार रुपैयाँ र दुई जना दीर्घरोगीहरुको निःशुल्क बिमा बापत ७ हजार गरेर १ लाख ३० हजार रुपैयाँ व्यक्तिगत सेवा सुविधाबाट खर्च भएको छ । आफ्नो कार्यकाल भर सुत्केरी आमालाई स्याहार खर्च वितरण गर्ने कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष शिर्पालीले बताउनुभयो । आमा र बच्चाको स्वास्थ्य अवस्था सुधार गर्न र सुत्केरी आमालाई आवश्यक पर्ने अण्डा, माछा मासु, फलफूल किनेर खान थोरै मात्रामा भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले व्यक्तिगत सेवा सुविधाबाट खर्च बेहोर्ने गरिएको अध्यक्ष शिर्पालीले बताउनुभयो । 

वडा अध्यक्षमा निर्वाचित भई पदभार ग्रहणका समयमा घोषणा गरे अनुसार वडामा पहिलो सुत्केरी आमाको रूपमा २०७९ असार महिनामा जमारुका विष्णु ददेल र मोहन ददेलको परिवारलाई सुत्केरी स्याहार खर्च उपलब्ध बनाएको थियो । केही दिन अघि मात्रै ४१ औँ सुत्केरी आमाको रूपमा वडाको नयाँ गाउँका मनकला शिर्पाली र रणबहादुर शिर्पालीको परिवारलाई घरमै पुगेर आमा र बच्चाको स्वास्थ्य लाभको कामना गर्दै स्याहार खर्च उपलब्ध गराएको अध्यक्ष शिर्पालीको भनाई छ । घरमै सुत्केरी स्याहार खर्च पाउँदा निकै खुसी लागेको नयाँ गाउँकी मनकला शिर्पालीले बताउनुभयो । स्याहार खर्च बापत उपलब्ध भएको रकम आफ्नो र बच्चाको पालन पोषणमा खर्च गर्ने शिर्पालीले बताउनुभयो । वडा अध्यक्षको यो कार्यलाई वडावासीहरूले प्रशंसा गर्दै खुसी समेत व्यक्त गर्ने गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  १३:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update