Kakhara सबैको खबर सम्पूर्ण खबर

रुकुम उद्योग वाणिज्य सङ्घ रुकुम पश्चिमले महोत्सव गर्ने भएको छ । आज मुसिकोट नगरपालिका वडा नम्बर १ खलङ्गामा रहेको सङ्घको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै रुकुम उद्योग वाणिज्य सङ्घले महोत्सव हुने बारे जानकारी गराएको हो । 

आगामी फागुन १८ गते देखि २८ गतेसम्म मुसिकोट नगरपालिका वडा नम्बर १ खलङ्गाको बराहटाकुरामा ‘रुकुम पश्चिम कृषि, व्यापार तथा सांस्कृतिक महोत्सव २०८०’ आयोजना गर्न लागिएको रुकुम उद्योग वाणिज्य सङ्घका अध्यक्ष पलबहादुर खड्काले जानकारी दिनुभयो । महोत्सवको सह आयोजकमा कला संस्कृति, पर्यटन प्रवर्द्धन मञ्च रहेको छ । 

किन गरिँदै छ महोत्सव ?
महोत्सवबाट रुकुम पश्चिम र आसपासमा रहेका कृषि, जडीबुटी, पर्यटन, ऊर्जा, संस्कृति, सांस्कृतिक वस्तुहरूको प्रदर्शन गरी प्रचार प्रसार गर्ने, स्थानीय उत्पादनहरूको पहिचान गरी बजार विस्तारको अभियान सुरु गर्ने, जिल्लाको लगानीको क्षेत्र र लगानीकर्ताहरूको पहिचान गरी रुकुम पश्चिम लगानी सम्मेलन वा सोही प्रकृतिका कार्यक्रमहरू आयोजना गर्ने लक्ष राखिएको अध्यक्ष खड्काले बताउनुभयो । 

त्यस्तै कृषि क्षेत्रको आधुनिकीकरण र जडीबुटी जन्य, वन पैदावार खेती सम्बन्धी अभिमुखीकरण गोष्ठी, जलवायु परिवर्तन अनुकूलन गोष्ठीहरूको आयोजना गरी व्यवसायीकरण तर्फ लिने, जिल्लाका पर्यटकीय सम्भावना सम्बन्धी सम्मेलन आयोजना गर्ने र महोत्सवको आम्दानीबाट कृषि पर्यटन, उद्योग व्यापारका क्षेत्रमा काम गर्ने कामदार, मजदुर, कर्मचारीको सेवा सुविधा सुनिश्चितता र बेरोजगारहरूको अवस्था अध्ययन गरी रोजगार र स्वरोजगारमा लगाउनका लागि रोजगार बैङ्कको स्थापना गर्ने लक्ष राखिएको छ । 

यसका साथै महोत्सवको आम्दानीबाट सङ्घको संस्थागत विकास सम्बन्धी गतिविधिहरू गर्ने र महोत्सवको आम्दानीबाट अक्षय कोष स्थापना गरी त्यसबाट सेवा गर्ने लक्ष समेत राखिएको खड्काको भनाई छ । 

जिल्लाको अर्ग्यानिक उत्पादनलाई जोड दिइने 
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनुका साथै स्थानीय उत्पादन समेत राखिने बताइएको छ । महोत्सवमा विभिन्न व्यापारिक स्टल रहने छन् भने जिल्लाका अर्ग्यानिक उत्पादनहरू ढिँडो, सिस्नो, कोदोको रोटी, स्थानीय जातका कुखुरा, कालिजको मासु, स्थानीय आलु, दाल, तरकारी पनि पाइने रुकुम उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दलबहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार स्थानीय झाँकीहरू समेत महोत्सवमा रहने छन् । सबैको सहकार्यबाट महोत्सव सफल पार्ने र यसमा सहयोग गर्न उहाँले सबैलाई आग्रह समेत गर्नुभयो । 

जिल्लाको माटो सुहाउँदो कलाकार ल्याइने
महोत्सवमा स्थानीय कलाकार सहित जिल्लाको माटो सुहाउँदो कलाकारहरूलाई बोलाइने सह आयोजक कला संस्कृति, पर्यटन प्रवर्द्धन मञ्चका अध्यक्ष डिल्ली परियारले बताउनुभयो । जिल्लाका सबै कलाकारलाई महोत्सवमा अवसर दिइने र अन्य कलाकारको सम्बन्धमा दर्शकको माग र जिल्लालाई सुहाउँदा कलाकारलाई बोलाइने उहाँको भनाई छ । को को कलाकार आउने भन्ने बारेमा भने केही दिनमा जानकारी गराइने उहाँले बताउनुभयो । 

खुला ब्याडमिन्टन पनि हुने 
यसैबिच महोत्सवमा ब्याडमिन्टन प्रतियोगिता समेत आयोजना गरिएको रुकुम उद्योग वाणिज्य सङ्घले जानकारी गराएको छ । यस बारेमा थप जानकारी भने केही दिनमा गराइने पत्रकार सम्मेलनमा बताइएको छ । 

मोटिभेसनल गतिविधि हुने  
महोत्सवमा नाच गान, रमाइलो, व्यापार, खेलकुदका साथै मोटिभेसनल गतिविधिहरू पनि सञ्चालन हुने आयोजकले बताएको छ । राष्ट्रिय तथा स्थानीय स्तरमा खातीप्राप्त राजनीतिक व्यक्तिहरू, बुद्धिजीवी, पत्रकार, प्रोफेसर, व्यापारी, उद्योगपति, जनप्रतिनिधि, वैज्ञानिक, वातावरणविद् लगायतको उपस्थितिमा सम्मेलन तथा गोष्ठीको आयोजना गरिने रुकुम उद्योग वाणिज्य सङ्घका अध्यक्ष खड्काले बताउनुभयो । 

पत्रकार सम्मेलनको सञ्चालन रुकुम उद्योग वाणिज्य सङ्घका महासचिव अनिल बुढाले गर्नुभएको थियो ।  
 

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update