Kakhara सबैको खबर सम्पूर्ण खबर
वडा सचिवले सामाजिक सुरक्षा भत्ता हिनामिना गरेकाे आराेप

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर ६ का वडा सचिवले सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको लाभग्राहीले गुनासो गरेका छन् । वडा सचिव कृष्णबहादुर थापाले ४१ जनाको नौ लाख दुई हजार नौ सय सामाजिक सुरक्षा भत्ता निकालेर आफैले खर्च गरेको गुनासो आएको हो । थापाले एक वर्षसम्मको सामाजिक सुरक्षा भत्ता बैङ्कबाट निकालेर आफैले प्रयोग गरेको आरोप लागेको छ । थापा नगर करारमा कार्यरत सचिव हुन । यस विषयमा १३ जनाले वडा कार्यालयमा निवेदन दिएका छन् । आफ्नो नामको सामाजिक सुरक्षा भत्ता वडा सचिवले निकालेर खाइदिएको भन्दै १३ जनाले आफूलाई सम्बोधन गरेर लिखित उजुरी नै दिएको र बुझ्दै जाँदा ४१ जनाको भत्ता हिनामिना भएको पाइएको वडाध्यक्ष धनेश्वर शर्माले बताउनुभयो । भत्ता नपाउनेमा ज्येष्ठ नागरिक, एकल महिला लगायत छन् ।  

आर्थिक वर्ष २०७९/०८० को भत्ता आफूले पाउन नसकेको आठबिसकोट ६ छिलाका ज्येष्ठ नागरिक दरिभान सुनारले बताउनुभयो । आफूले १ वर्षको भत्ता नपाएको उहाँको गुनासो छ । वडा सचिवले निकालिदिन्छु भनेपछि विश्वासका आधारमा आफूले चेकमा सही गरेर दिएको तर अघिल्लो वर्षको भत्ता अहिलेसम्म पनि पाउन नसकेको उहाँको भनाई छ । ‘तपाइहरूलाई टाढा हुन्छ, चेकमा सही गरेर दिनुहोस्, बैङ्कबाट निकालेर वडामै ल्याइदिन्छु भनेर वडा सचिवले भन्नुभयो–मैले विश्वास गरेर दिएँ तर अहिलेसम्म पनि भत्ता पाएको छैन’ उहाँले भन्नुभयो । आफूले ४९ हजार बढी पैसा पाउन बाँकी रहेको उहाँको भनाई छ । 

वडा सचिव थापाले कार्यालय सहयोगीलाई सबैको घरघरमा पठाएर चेक सङ्कलन गरेको पीडितहरूको गुनासो छ । बैङ्कबाट निकालेर घरमै भत्ता ल्याइदिन्छौँ भनेर आफूसँग चेक मागेको पीडित एकल महिला लालकुमार जैसीले गुनासो गर्नुभयो । वडा सचिवले नै कार्यालय सहयोगीलाई घरमा पठाएपछि विश्वास गरेर सही छाप गरेर चेक दिएको उहाँको भनाई छ । प्रत्येकबाट घरमै भत्ता ल्याइदिन्छौँ भनेर सचिवले चेक सङ्कलन गरेको पीडितहरूको भनाई छ । 

Nibedan Wada1709188568.jpg
भत्ता नपाएकाे भन्दै पीडितले वडाध्यक्षलाई सम्बाेधन गरेर वडा कार्यालयमा बुझाइएकाे निवेदन ।

लामो समयसम्म पनि भत्ता पाउन नसकेपछि पीडितहरू वडाध्यक्षको सम्पर्कमा पुगेका छन् । त्यति बेलासम्म आफूलाई यसबारेमा केही थाहा नभएको र उजुरी आएपछि नगरपालिकाको केन्द्र राडीमा रहेको प्रभु बैङ्कमा बुझ्दा सामाजिक सुरक्षा भत्ता गत भदौ १० मै निकालिएको भेटिएको वडाध्यक्ष शर्माले जानकारी दिनुभयो । ‘सरकारले भत्ता सिधै सेवाग्राहीको खातामा हाल्दिन्छ, मलाई यसबारेमा केही जानकारी नै थिएन, पछि गुनासो आएपछि बुझ्दा पो थाहा भयो गत भदौमै लाभग्राहीको खाताबाट पैसा झिकिसकिएको रहिछ, सबैको खाताबाट एकै दिन चेक मार्फत भुक्तानी भएको देखिन्छ, तर लाभग्राहीले भत्ता पाएका छैनौँ भन्नुहुन्छ’ उहाँले भन्नुभयो । 

वडा सचिवलाई बुझ्दा विभिन्न बहानामा पन्छिन खोजिरहेको वडाध्यक्ष शर्माको भनाई छ । सचिव थापाले प्रभु बैङ्क राडी शाखाको अपचलनमा मुछिएका नीरजविक्रम शाहले उक्त रकम हिनामिना गरेको जवाफ आफूलाई दिएको उहाँले बताउनुभयो । ‘यो त सरासर पन्छिने बाटो हो, वडा सचिवले नै कार्यालय सहयोगी मार्फत ४१ जनाबाट चेक सङ्कलन गर्नुभएको देखिन्छ, गत भदौ महिनामै चेक साटिएको छ, अहिले आएर बैङ्कका कर्मचारीले हिनामिना गरे भनेर भन्नु हास्यास्पद हो, वडाध्यक्ष शर्मा भन्नुहुन्छ ।’ तपाइहरूको भत्ता बैङ्कका कर्मचारीले खाइदिए भनेर केही लाभग्राहीलाई लिएर वडा सचिव थापा बैङ्क घेराउ गर्न समेत पुगेको वडाध्यक्ष शर्माले बताउनुभयो । उहाँका अनुसार यसबारेमा नगरपालिका देखि जिल्ला प्रशासन कार्यालयसम्ममा जानकारी गराइसकिएको छ । 

WhatsApp Image 2024-02-28 at 14.00.42_6cb20c3a1709188657.jpg
घटनाबारे वडाध्यक्षले प्रमुख जिल्ला अधिकारीलाई गराएकाे लिखित जानकारी ।

१९ जनालाई भत्ता फिर्ता 
यसैबिच वडा सचिव थापाले १९ जनालाई भत्ता दिएको वडाध्यक्ष शर्माले बताउनुभयो । आफ्नै रोहबरमा १९ जनालाई उनीहरूले पाउन बाँकी सबै भत्ता फिर्ता गरेको उहाँको भनाई छ । तर अझै २२ जनाले भत्ता पाउन बाँकी छ । वडा सचिवले सबैलाई फिर्ता गर्छु भनेर आश्वासन दिएको बताइएको छ । वडा सचिव थापालाई अहिलेसम्म कुनै खालको कारबाही भएको छैन । नगर प्रमुख रवि केसीले घटनाबारे बुझिरहेको बताउनुभयो । वडा सचिवकाे लापरवाही देखिएकाे तर रकम निकालेकै हाे हाेइन भनेर प्रष्ट भइनसकेकाे उहाँकाे भनाई छ । बैंकले बुझेकाे भनेर भाैचर दिएकाे नपाइएकाे उहाँले बताउनुभयाे । 

WhatsApp Image 2024-02-28 at 13.52.05_2321050c1709188889.jpg
भत्ता फिर्ता गरिँदै ।

मैले भत्ता निकालेकै छैन: सचिव थापा 
वडा सचिव थापाले भने आफूले भत्ता ननिकालेको दाबी गर्नुभएको छ । कुनै पनि सेवाग्राहीको भत्ता आफूले ननिकालेको बताउँदै थापाले यो घटनाबारे आफूले पनि केही समय अघि मात्र थाहा पाएको दाबी गर्नुभयो । ‘सेवाग्राहीको अनुरोधमा मैले नै लिएर चेक लिएर बैङ्कमा बुझाएको हुँ, माघको ११ गतेसम्म बैङ्कमा गएर बुझ्दा पैसा निकालिएको थिएन, तर अहिले पैसा निकालिएको छ, उहाँले भन्नुभयो–मैले कसैको पनि पैसा निकालेको छैन ।’ साथै उहाँले कार्यालय सहयोगीलाई परिचालन गरेर लाभग्राहीबाट चेक सङ्कलन नगरेको पनि दाबी गर्नुभयो ।

WhatsApp Image 2024-02-29 at 11.50.50_be9bad971709188715.jpg
वडा सचिव कृष्णबहादुर थापा ।

प्रभु बैङ्कका कर्मचारी नीरजविक्रम शाहले नै सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको दाबी गर्दै थापाले शाह विरुद्ध ठाडो उजुरीका लागि शुक्रवार सदरमुकाम पुग्ने बताउनुभयो । झन्डै डेढ करोड अपचलन गरेको आरोप लागेका प्रभु बैङ्क राडीका तत्कालीन अप्रेसन इन्चार्ज शाह फरार छन् । तपाईँले ननिकालेको भए अहिले किन पैसा फिर्ता गरिरहनुभएको छ त ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो–बुढाबुढी आएर रुवावासी तथा सत्तोसराप, अलाप विलाप गरिरहनुभएको छ, त्यो देख्न नसकेर इज्जतका लागि सरसापट गरेर पैसा दिइरहेको छु । 
 

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update