Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटको स्थानीय पाठ्यपुस्तक ‘मुसिकोट सेरोफेरो’को निर्माण कार्य अन्तिम चरणमा 

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको स्थानीय पाठ्यपुस्तक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ‘मुसिकोट सेरोफेरो’ नामक स्थानीय पाठ्यपुस्तक निर्माणको काम अन्तिम चरणमा पुगेको हो । स्थानीय विषयवस्तुलाई समेटेर पाठ्यक्रम यसअघि नै निर्माण भइसकेको छ । 

त्यसका आधारमा कक्षा १ देखि ८ सम्मको पाठ्यपुस्तक निर्माण निर्माण भइरहेको हो । यसका लागि नगरपालिकाले पाठ्यपुस्तक लेखन तथा सामग्री सङ्कलन विज्ञ समिति गठन गरेको छ । कमप्रसाद देवकोटा संयोजक र गोपाल केसी तथा शङ्कर रावल सदस्य रहेको तीन सदस्यीय समितिले पाठ्यपुस्तक निर्माण गरिरहेको छ । 

पाठ्यपुस्तक लेखन तथा सामग्री सङ्कलन कार्य ८५ प्रतिशत सकिएको विज्ञ समितिका सदस्य गोपाल केसीले जानकारी दिनुभयो । नयाँ शैक्षिक सत्र देखि लागु गर्ने गरी पाठ्यपुस्तक निर्माणको काम चलिरहेको उहाँको भनाई छ । उहाँका अनुसार गत माग ५ गते देखि समितिले निरन्तर काम गरिरहेको छ । 

6d74bf53-d731-4784-a296-2b99d481582b1711626413.jpeg

मुसिकोट नगरपालिकाले पाठ्यपुस्तक निर्माणका लागि गत भाद्र १० गते विज्ञ समिति गठन गरेको थियो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा पालिकाले आफ्नो मौलिकतामा आधारित स्थानीय पाठ्यपुस्तक निर्माण गर्ने र विद्यालयमा लागु गर्न पाउने व्यवस्था छ । सोही अनुसार पालिकाहरूले स्थानीय पाठ्यपुस्तक निर्माण गरी लागु गरिरहेका छन् । 

मुसिकोटमा पाठ्यपुस्तक निर्माण नभए पनि पाठ्यक्रम निर्माण भई यस अघि नै विद्यालयमा पढाई भइरहेको छ । अब भने कक्षा १ देखि ८ सम्म छुट्टा छुट्टै पाठ्यपुस्तक निर्माण भई लागु हुने भएपछि पढाइमा थप सहज हुने नगरपालिकाले विश्वास लिएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update