रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले शैक्षिक सुधारको लागि २९ बुँदे प्रतिबद्धता पत्र घोषणा गरेको छ । वडा नम्बर २ सिम्रुतुमा भएको शिक्षा युवा तथा खेलकुद शाखा, वडा शिक्षा समिति, विव्यस, विद्यालय शिक्षक स्टाप, राजनीतिक दल, विद्यार्थी, पत्रकार, सरोकारवाला सबैको उपस्थितमा २९ बुँदे प्रतिबद्धता पत्र घोषणा गरिएको हो । शिक्षा ऎन, नियमावली र कार्यविधिमा भएका प्रावधान र मापदण्ड अनुसार शिक्षण सिकाई तयार गरी लागू गर्न उपस्थित सबैले प्रतिबद्धता जनाएको गाउँपालिका अध्यक्ष गनेशकुमार केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रत्येक विद्यालयले विद्यालय सुधार योजना निर्माण गरी लागू गर्ने, वार्षिक कार्यतालिका निर्माण गरी पठनपाठन क्रियाकलाप सुचारु गर्ने, शिक्षक र विद्यार्थी पोसाकमा उपस्थित हुने प्रत्येक शुक्रबार १ बजेदेखि ४ बजेसम्म अनिवार्य वार्षिक कार्यतालिका अनुसार अतिरिक्त क्रियाकलाप गर्नु पर्ने प्रतिबद्धता जनाएको छ ।
त्यस्तै विद्यालयको सामाजिक लेखा परिक्षण अनिवार्य गर्ने , शिक्षा शाखा मार्फत नियमित विद्यालय अनुगमन सुपरिवेक्षण गर्ने , प्रत्येक महिनाको अन्त्यमा कलास टेष्ट गराई विद्यार्थीको अवस्थाबारे अभिभावकलाई जानकारी बनाउने लगायतका २९ बुँदामा प्रतिबद्धता नजाएको छ ।
शैक्षिक सुधारको लागि २९ बुँदे प्रतिबद्धताका विषयमा सुधार ल्याउन २०८१ साललाई शैक्षिक सुधार वर्षको रुपमा लिई शैक्षिक अभियान गर्ने गाउँपालिकाले जनाएको छ । आगामी वर्ष प्राप्त हुने उपलब्धिको समिक्षा गरी थप क्रियाकलाप अगाडी बढाउन समेत प्रतिबद्धता जनाएको छ।