Kakhara सबैको खबर सम्पूर्ण खबर
क्षयरोगका बिरामीलाई पोषणयुक्त खाद्यान्न वितरण
नगर प्रमुख केसी विरामीलाई पोषणयुक्त खाद्यान्न वितरण गर्दै ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले नियमित उपचार गराइरहेका क्षयरोगका विरामीलाई पोषण सुधारको लागि पोषणयुक्त खाद्यन्न वितरण गरेको छ । सोमबार नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी क्षयरोगका विरामीलाई पोषणयुक्त खाद्यान्न वितरण गरेको हो । नगरभित्र नियमित उपचार गरायइरहेका २५ जना मध्ये ८ जना विरामीलाई पोषणयुक्त खाद्यान्न वितरण गरिएको आठबीसकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख प्रेसप्रकाश रोकायले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाँकी १७ जना बिरामीलाई पनि १/२ दिनमा पोषणयुक्त खाद्यान्न वितरण गरिने छ । प्रत्येक बिरामीलाई गाउँमै उत्पादन भएको लोकल २० किलो चामल, २ किलो दाल, १ लिटर तेल र ३० पीस अण्डा वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख रोकायले जानकारी दिनुभयो । एक जना बिरामीलाई ३ हजार रुपैयाँ बराबरको खाद्यान्न वितरण गरिएको छ । बिरामीलाई पोषणयुक्त खाद्यान्न वितरणको लागि संघीय सरकारबाट ५० हजार रकम प्राप्त भएकोमा रकम अपुग भएपछि २० हजार रुपैयाँ नगरपालिकाले थप गरेको छ । 

यस वर्ष नगरपालिकामा ५२ जना क्षयरोका विरामी फेला परेकामा २७ जना निको भइसकेको र बाँकी २५ जना नियमित उपचार गराइ रहनुभएको छ । ती बिरामीहरुको नगरपालिकाको विभिन्न ठाउँमा रहेका ५ वटा स्वास्थ्य संस्थाबाट उपचार भइरहेको आठबीसकोट स्वास्थ्य शाखा प्रमुख रोकायले जानकारी दिनुभयो ।

सरकारले २ सय ३१ जना क्षयरोगका बिरामी पत्ता लगाउने लक्ष्य दिएकोमा  यस वर्ष ८० जना विरामी पत्ता लाग्ने नगरपालिकाले अनुमान गरेको छ । 

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update