Kakhara सबैको खबर सम्पूर्ण खबर
गर्मी बढेपछि आठबीसकोटमा पाँच दिनका लागि विद्यालय बन्द 

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले गर्मी बढेपछि विद्यालय बन्द गरेको छ । नगरपालिकाले मंगलबार देखि आइतबारसम्मको लागि पाँच दिन विद्यालय बन्द गरेको हो । अत्याधिक गर्मी बढेपछि विद्यार्थीहरु बेहोस हुने छटपटी हुने जस्ता समस्या देखिएपछि ५ दिनको लागि सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको आठबीसकोट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख इन्द्रबहादुर विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार केही दिन अघी वडा नम्बर १० मा रहेको जनता माध्यामिक विद्यालय झिचौर र वडा नम्बर ११ मा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालय गतसैनामा अध्यनरत विद्यार्थीहरुमा बेहोस हुने तथा छटपटी हुने समस्या देखिएको थियो । गर्मीका कारण विद्यार्थीलाई थप अन्य समस्या नहोस भनेर विद्यालय बन्द गरी बर्खे तथा हिउँदे विदामा मिलान गर्ने गरी विदा मिलाएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विष्टले जानकारी दिनुभयो ।

जस्तापाताले निर्माण गरिएका अस्थायी सिकाई केन्द्रमा पठनपाठन बनाउनुपर्ने भएकाले पनि गर्मीको समयमा बेहोस हुने तथा छटपटी हुने समस्या बढी देखिएको  उहाँले जानकारी दिनुभयो । आठबीसकोट नगरपालिकामा ६४ वटा सामुदायिक र २ वटा संस्थागत गरेर जम्मा ६६ वटा विद्यालय  रहेका छन् ।

गत कात्तिक १७ गते राती गएको भूकम्पले विद्यालयमा क्षती पुर्याएपछि अधिकांश विद्यालयले अस्थायी सिकाई केन्द्रबाट पठपाठन सुचारु गरिरहेको नगरपालिकाले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update