Kakhara सबैको खबर सम्पूर्ण खबर
आठबीसकोटका २१ विद्यालयलाई सुविधायुक्त डेस्क बेन्च सहयोग 
फाइल फोटो ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयलाई डेस्क र बेन्च सहयोग गरिएको छ । भूकम्प प्रभावित क्षेत्रका बालबालिकालाई पठनपाठनमा सहज होस भन्ने उदेश्यले नगर भित्र बढी प्रभावित भएका २१ वटा सामुदायिक विद्यालयलाई २० सेटका दरले डेस्क बेन्च सहयोग गरिएको हो । बखुन्डोल ललितपुरमा रहेको जेइतुस सामाजिक संस्था र बाँकेमा रहेको जिवन ज्योति सामाजिक संस्थाले २१ वटा सामुदायिक विद्यालयमा ४ सय २० सेट डेस्क बेन्च सहयोग  गरेको  आठबीसकोट नगरपालिकाका नगरप्रमुख रवि केसीले जानकारी दिनुभयो । 

उहाँका अनुसार सुविधायुक्त डेस्क बेन्च खरिद गर्दा लाग्ने खर्च, ढुवानी खर्चका साथै विद्यालयसम्म पुगेर डेस्क बेन्चको जडान गर्ने प्राविधिक खर्च समेत संस्था मार्फत सहयोग भएको हो । डेस्क बेन्च सहयोग लिएर जेईतुसका निर्देशक फादर रोय सेवस्टेन र जीवन ज्योतीका निर्देशक जोमन जेम्ससहितको समुह नगरपालिका पुगेर सम्बन्धित विद्यालयमा डेस्क बेन्च जडान गरेर फर्किसकेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख इन्द्रबहादुर विष्टले जानकारी दिनुभयो । 

उहाँका अनुसार नगरभित्र रहेका १८ वटा माध्यामिक र ३ वटा आधारभुत विद्यालय गरेर २१ वटा विद्यालयमा सहयोगमा प्राप्त भएका सुविधायुक्त डेस्क बेन्च जडान गरिएको छ । सुविधायुक्त डेस्क बेन्च जडान भएसँगै विद्यार्थीहरुको सिकाईमा सहज हुनुका साथै विद्यार्थीहरुको कापी,किताव लयायत शैशिक सामग्री सुरक्षित राख्न सहयोग पुग्ने छ । एक सेट डेस्क बेन्चमा ३ जना विद्यार्थी बस्न मिल्ने क्षमता रहेको छ ।

गत कात्तिक १७ गते राती गएको भूकम्पले विद्यालयहरुमा क्षती पुर्याउँदा अधिकांश विद्यालयहरुले पठनपाठन अस्थायी सिकाई केन्द्र र चर्किएकै भवनबाट गराइरहेका छन् । आठबीसकोट नगरपालिकामा ६४ सामुदायिक विद्यालय रहेकामा ५४ वटा विद्यालयका भवन भूकम्पले पुर्णरुपमा क्षती पुर्याएको छ । बाँकी १० वटा सामुदायिक विद्यालयमा कम क्षती भएको थियो । हाल २२ वटा विद्यालयमा अस्थायी सिकाई केन्द्र निर्माण गरेर पठनपाठन भइरहेको र १० वटा निर्माणको चरणमा रहको शाखा प्रमुख विष्टले जानकारी दिनुभयो ।

अन्य विद्यालयमा चर्किएका भवनबाट पठनपाठन भइरहेको नगरपालिकाले जनाएको छ । हालसम्म शिक्षण संस्थाहरु पुर्ननिर्माण हुन नस्कदा विद्यार्थीहरुलाई  पठनपाठनमा समस्या हुने गरेको छ । अस्थायी सिकाई केन्द्रबाट पठनपाठन गराउँदा गर्मीमा विद्यार्थी बेहोस हुन थालेपछि नगरपालिकाले मंगलबार देखि असार ९ गतेसम्मको लागि विद्यालय बन्द समेत गरेको जनाएको छ ।


 

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update