Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणी गाउँपालिकाले ल्यायो ५८ करोड बढीको बजेट
गाउँसभामा बजेट प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष रेउले ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को बजेट लाएको छ । ११ औँ गाउँ सभामा शुक्रवार गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउलेले ५८ करोड २३ लाख १३ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभयो । कुल विनियोजन बजेट मध्ये  चालुतर्फ  ३७ करोड १४ लाख १३ हजार अर्थात् ६८.६८ प्रतिशत बजेट विनियोजन गर्नुभएको हो । त्यस्तै पुँजीगततर्फ २१ करोड ६ लाख  अर्थात् ३६.३२ प्रतिशत बजेट विनियोजन गरिएको छ । 

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोत मध्य आन्तरिक राजस्वबाट १ करोड, सङ्घीय सरकार वित्तीय समानीकरणबाट ८ करोड ८८ लाख, सङ्घीय सशर्तबाट २६ करोड ८८ लाख  रुपैयाँ प्राप्त भएको छ । त्यस्तै सङ्घीय विशेषतर्फ २ करोड ५० लाख, सङ्घीय सरकार राजस्व बाँडफाँडबाट ८ करोड ३८ लाख, कर्णाली प्रदेश सरकार वित्तीय समानीकरणबाट ९३ लाख ३३ हजार, प्रदेश सरकार सशर्त अनुदान ५ करोड २ लाख ८३ हजार, प्रदेश सरकार समपूरक २ करोड २५ लाख, प्रदेश सरकार विशेषतर्फ १ करोड २० लाख, प्रदेश सरकार राजस्व बाँडफाँडबाट ९ लाख ५ हजार ९ सय ८९ रुपैयाँ  प्राप्त भएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा  खर्च नभई बचत हुने १ करोड ८ लाख ९१ हजार ११ रुपैयाँ प्रक्षेपण गरिएको छ । गाउँपालिकाले आर्थिक वर्ष२०८१/०८२ को नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत गरेको हो । सभामा गाउँपालिका अध्यक्ष गणेशकुमार केसीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नीति तथा कार्यक्रम र बजेट आजै सभाबाट पारित भएको गाउँपालिकाले जनाएको छ ।

जिल्ला समन्वय समितिकी प्रमुख लुम्बिनी गौतमको प्रमुख आतिथ्यतामा भएको गाउँ सभामा कार्यपालिका सदस्य, पुर्व जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, कर्मचारी लगायतको उपस्थित रहेको थियो । कार्यक्रमको सहजीकरण सभा सचिव प्रेमबहादुर घर्तीले गर्नु भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update