Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणीकाे नीति, कार्यक्रम: गर्भवती महिलाको घरमा हरियो झन्डा राख्ने अभियान, अरू के छ ?
निति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष केसी ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति, कार्यक्रम ल्याएको छ । शुक्रवारको गाउँ सभाको एघारौँ अधिवेशनमा गाउँपालिका अध्यक्ष गणेशकुमार केसीले आगामी वर्षको नीति तथा कार्यक्रम पेस गर्नुभएको हो । गाउँपालिकाले  प्रत्येक गर्भवती महिलाको घरमा हरियो झन्डा राख्ने अभियान सञ्चालन गर्ने भएको छ ।

गाउँपालिका भित्र रहेका गर्भवती महिलाको घरमा हरियो झन्डा राख्ने र आमालाई खाना तथा शिशुलाई नाना कार्यक्रमलाई प्राथमिकतामा दिइने योजनालाई नीति कार्यक्रममा समावेश गरिएकाे छ ।  यसबाट कोही पनि गर्भवती महिला तथा शिशु पोषणको पहुँचबाट टाढा रहनु नपर्ने र शिशुमा देखिने कुपोषणलाई अन्त्य गर्न सहयोग पुग्ने गाउँपालिकाको विश्वास छ ।

बहु क्षेत्रीय पोषण योजना कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखी सोही अनुरूप आर्थिक वर्ष २०८१/०८२ मा नेपाल सरकारबाट प्राप्त हुने बजेट र पालिकाले छुट्टाएको समपूरक रकलाई समेत क्षेत्रगत विनियोजन गरी पोषण सुधारका लागि खर्च गरिने नीति तथा कार्यक्रममा उल्लेख्य गरिएको छ ।

त्यस्तै समाजमा रहेका विद्यमान कुरीति, छाउपडी, बालविवाह र  छुवाछूत जस्ता संस्कार तथा विकृतिअन्त्य गर्ने, पोषणमैत्री गाउँपालिका निर्माण गर्ने, सहिदको सम्मानको लागि सहिदको नामबाट सडकको नामकरण गर्ने, पार्क स्तम्भ खडा गरी इतिहासको संरक्षण गर्ने, सहिदका सन्तानलाई शिक्षा  र रोजगारीका अवसरमा प्राथमिकता दिने उल्लेख गरिएको छ । 

सहिदका बालबच्चा, द्धन्द पीडित, अपाङ्ग, टुहुरा, अति विपन्न परिवारका बालबालिकालाई छनौट गरी उच्च शिक्षासम्मको अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गर्ने, सरकारले निःशुल्क गरेको औषधी र आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क र प्रभावकारी तुल्याउने, प्रत्येक विद्यालयमा स्वास्थ्य शिक्षा सञ्चालन गर्ने, विशेषज्ञ सहितको घुम्ती शिविर सञ्चालन गर्ने, "पिउने पानी पहुँचमा स्वच्छता र शुद्धता  एक घर एक धारा त्रिवेणी गाउँपालिकाको प्रतिबद्धता" भन्ने नाराका साथ थप प्रभावकारी काम गर्ने नीति कार्यक्रममा उल्लेख छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ लागि ५८ करोड १३ लाख १३ हजार बजेट विनियोजन गरेकाे छ । नीति कार्यक्रम र बजेट गाउँसभाले शुक्रबार नै पारित समेत गरिसकेकाे छ । 

 

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  ०७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update