Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटको नीति: बेरोजगारलाई अनिवार्य काममा लगाउने, सार्वजनिक क्षेत्रमा बनाइएका संरचना हटाउने
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख महेन्द्र केसी ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले नगर क्षेत्रमा सार्वजनिक स्थानमा बनाइएका संरचना हटाउने भएको छ । आगामी आर्थिक वर्षको नीति कार्यक्रममा नगरपालिकाले सार्वजनिक स्थान खाली गर्ने योजनालाई प्राथमिकताका साथ समेटेको छ । सार्वजनिक क्षेत्र सडक, वन, सरकारी जग्गा र सार्वजनिक जग्गामा बनेका घर टहराहरू आगामी वर्षमै हटाउने नीति नगरपालिकाले लिएको छ । यसका साथै नक्सा पास नगरी अव्यवस्थित रूपमा बनाइएका घर टहराहरू पनि हटाउने नगर प्रमुख महेन्द्र केसीले नगर सभामा पेस गरेको नीति कार्यक्रममा उल्लेख छ ।

नगरपालिकाले नगर क्षेत्रमा रहेको सार्वजनिक, ऐलानी, सरकारी प्रति जग्गाहरूको एकीकृत विवरण तयार गरी व्यवस्थित अभिलेखीकरण गरी उपयोगमा समेत ल्याउने भएको छ । किसानलाई प्रोत्साहन दिने, प्राविधिक ज्ञान तथा कृषि उपजको बजारीकरणमा ध्यान दिने, कृषि सङ्कलन केन्द्र निर्माण तथा विक्री केन्द्र स्थापना गरी सञ्चालन गर्ने, कृषकहरूको वर्गीकरण गरी परिचयपत्र वितरण गर्ने नीति समेत नगरपालिकाले लिएको छ ।

स्थानीय उत्पादनलाई प्रोत्साहन गरी बजारीकरण गर्ने, वैदेशिक रोजगारीबाट फर्केकालाई कृषिमा जोड्न मल, बिउ र अन्य प्रोत्साहन दिने, प्राविधिक शिक्षा हासिल गरेका युवालाई व्यवसायमा जोड्ने, दूध, मासु तथा अण्डा उत्पादन गर्ने कृषकलाई प्रोत्साहन दिने र नगरभित्रका ख्यातियोग्य जमिनमा बाह्रै महिना सिँचाइको व्यवस्थापन गर्ने नीति पनि नगरपालिको लिएको छ ।

त्यस्तै साना उद्योग सञ्चालनमा जोड गर्ने, बेरोजगारहरूलाई सूचीकृत गरी बेरोजगारहरूलाई काममा अनिवार्य लगाउनुपर्ने नीति अवलम्बन गर्ने, समुदायको विकासका लागि श्रमदानको नीतिलाई लागु गर्ने, पर्यटन प्रवर्द्धन गर्ने, विद्यालयमा न्यूनतम दरबन्दी तथा पूर्वाधार रहने गरी विद्यालयहरूको समायोजन, तह मिलान, दरबन्दी मिलान, शिक्षक व्यवस्थापनको काम गर्ने, उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय तथा शिक्षकहरूलाई पुरस्कृत गर्ने नीति समेत अवलम्बन गर्ने नगर प्रमुख केसीले प्रस्तुत गरेको नीति कार्यक्रममा उल्लेख छ ।  

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update