रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले आर्थिक वर्ष २०८० ०८१ मा भए गरेका गतिविधिको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । पालिका तथा वडामा एक वर्षको अवधिमा भए गरेका विकास निर्माण तथा प्रशासनिक कामको सार्वजनिक सुनुवाइ गर्दै कार्यक्रम सम्पन्न गरेको हो । पालिकाले सवै वडालाई समेट्ने गरी ३ स्थानमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको थियो । आइतबार वडा नम्बर ८, ९ र १० लाई समेट्ने गरी वडा नम्बर १० को पेदिखेतमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको थियो ।
सोमबार वडा नम्बर १, २, ५, ७ को वडा नम्बर २ को सिम्रुतु र वडा नम्बर ३, ४ र ६ को वडा नम्बर ६ भुल्नेटामा कार्यक्रमको आयोजना गरिएको त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीले जानकारी दिनुभयो । सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयले भूकम्प गएको झण्डै १० महिना पुगिसक्दा पनि दोस्रो किस्ता पाउन नसकेको, एक घर एक धाराको निति प्रभावकारी नहँुदा पानीको समस्या हुने गरेको, ग्रामीण सडक बाह्रै महिना सञ्चालन नहुँदा आवतजावतमा समस्या हुने गरेको गुनासो राखेका थिए । त्यस्तै शिक्षा क्षेत्रमा नजिता कमजोर हुँदै गएकाले शिक्षा क्षेत्रमा समिक्षा गर्नुका साथै लगानीमा पनि जोड दिनुपर्ने सहभागिले सुझाव दिएका थिए ।
सहभागिहरुले उठाएका प्रश्न तथा गुनासाहरुको गाउँपालिका अध्यक्ष गनेशकुमार केसीले जवाफ दिनुभएको थियो । भूकम्प पीडितको अस्थायी आवास निर्माणको दोस्रो किस्ता रकम पालिकामा आइसकेको भएपनि पहिलो किस्ता प्राप्त गरेका लाभग्राहीको संख्या भन्दा कम रकम आउँदा वितरणमा ढिलाई भएको बताउनुभयो । यस विषयमा पालिकामा केहि दिनभित्र छलफल गरेर दोस्रो किस्ता वितरणको काम छिटै थालिने उहाँले बताउनुभयो । त्यस्तै पालिका हुने विकास निर्माण, खानेपानीको समस्या लगायत ग्रामिण सडक नियमित सञ्चालन, शिक्षा क्षेत्र सुधार लगायतका विषयमा पालिका गम्भीर रहेको र पालिकाको क्षेत्रधिकार भित्र पर्ने विषयमा निरन्तर लागि रहेको गाउँपालिका अध्यक्ष केसीले स्पष्ट पार्नुभएको थियो ।
त्यस्तै सहभागिहरुले उठाएका अन्य विषयमा गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउले, प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्ती, सम्बन्धित वडाका वडा अध्यक्ष, पालिका शाखामा कार्यरत कर्मचारी लगायतले जवाफ दिनुभएको थियो । त्रिवेणी गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजिकरण पत्रकार देवकुमार ओली, बलेन्द्र ओली, गोपाल ओली र कुबेर आलीले गर्नुभएको थियो ।




-1765202239.jpeg)

-1759842583.jpg)