रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । मुसिकोट १ खंलगामा शिल्डको सोमबार प्रमुख अतिथि नगरप्रमुख महेन्द्र केसीले उद्घाटन गर्नुभएको हो । शिल्डमा नगरपालिका भित्रका १६ वटा सामुदायिक र ३ वटा संस्थागत विद्यालय गरी १९ वटा माध्यामिक विद्यालयका विद्यार्थीको सहभागिता रहेको रनिङ शिल्ड व्यवस्थापन तथा सञ्चालन उपसमिति संयोजक तथा बालकल्याण मावि सोलावाङका प्रधानाध्यापक भक्तबहादुर खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार शिल्डको उद्घाटन खलंगामा गरिएको पनि खेलकुदका कार्यक्रमहरु नगरपालिकाको वडा नम्बर ४, ६ र ११ को सिमानामा पर्ने ट्याखोला र खलंगामा सञ्चालन हुने छन् । १ गते सुरु हुने भनिएको शिल्ड केही कारणले ढिला गरी आजबाट सुरु भएको हो । रनिङ शिल्डमा आयोजना गरिएका मार्सल आर्टतर्फका तेक्वान्दो र कराते मुसिसकोट १ बराहाटाकुरामा रहेको कवर्ड हलमा सञ्चालन हुने छन् । भने ट्राक र फिल्ड, तर्फका प्रतियोगिता र छात्रा, छात्र भलिबल प्रतियोगिता ट्याखोलामा सञ्चालन गरिने राष्ट्रपती रनिङ शिल्ड व्यवस्थापन तथा सञ्चालन उपसमिति सदस्य डिल्ली डाँगीले जानकारी दिनुभयो ।
उहाँका अनुसार शिल्ड ७ गतेसम्म सञ्चालन हुनेछ । शिल्डको समापन कार्यक्रम पनि खलंगामै गर्ने निर्णय भएको सदस्य डाँगीले जानकारी दिनुभयो । शिल्डमा छात्र, छात्रा भलिवल, छात्र, छात्रा, हाईजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट प्रतियोगिता सञ्चालन हुनेछन् ।
त्यस्तै दौड तर्फ १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ सय मिटर र ३ हजार मिटरको छात्र, छात्र दौड प्रतियोगिता हुनेछ । मार्शल आर्टतर्फ कराते, तेक्वान्दो प्रतियोगिता आयोजना गरिएको छ । शिल्डमा भलिवल प्रतियोगिता र मार्शल आर्टतर्फ कराते र तेक्वान्दोमा सहभागि जनाएका विद्यार्थीले अन्य कुनै पनि विधामा सहभागि हुन नपाउने उपसमितिले जनाएको छ ।
उपसमिति संयोजक खड्काको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मुसिकोट नगर प्रमुख केसीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै मुसिकोट नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रकाश गिरी, शिक्षा अधिकृत विनाराम खड्का, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठक, १४ वटै वडाका वडा अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, पत्रकार लगायतको आतिथ्यता रहेको थियो ।
मुसिकोट शिक्षा, युवा तथा खेलकुद शाखाका प्रास नरेन्द्र ओलीको स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन रनिङ शिल्ड व्यवस्थापन तथा सञ्चालन उपसमिति सदस्य तथा महेन्द्र मावि छिवाङका शिक्षक शुधिर केसीले गर्नुभएको थियो । उद्घाटन सत्रमा विभिन्न विद्यालयका विद्यार्थीरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।







-1759842583.jpg)