कसको कदमी कसको पहलमा, पुगे कसरी
पारेर जनतालाई अलमलमा, पुगे कसरी ।
हिजो गाउँ घरमा बाग्मती चप्पल पट्काउने मान्छे ।
आज त्यो आलिसान महलमा, पुगे कसरी ।।
---------------------------------------------------------
सधैँ अरूको खोइरो खन्न, केनै गाह्रो छर
राम्रो लाई पनि नराम्रो भन्न, केनै गाह्रो छर।
दुई चार जना जम्मा पारेर गफ छाँट्न जान्नु पर्छ।
यो नेपाल हो यहाँ नेता बन्न, केनै गाह्रो छर ।।
---------------------------------------------------------
पुरा भएछन् हजारौँ रहर, सत्तामा गए पछि
गाउँ छोडेर पुग्यो सहर, सत्तामा गए पछि ।
हेर त्यो सामान्य मानिसको पनि अचेलको चुरीफुरी ।
करोडौँ ब्यालेन्स ठुल ठुला घर, सत्तामा गए पछि ।।
---------------------------------------------------------
छिन छिन मै सरकार ढाल्छन्, नेता भनाउँदाले
बिच सडकमा टायर बाल्छन्, नेता भनाउँदाले ।
दुख दिनु र लुट्नु सिवाय केही जानेका छैनन् ।
जनता लाई निचोरेर पेट पाल्छन्, नेता भनाउँदाले ।।
---------------------------------------------------------
घरी वारि हेरे घरी पारी हेरे, युद्ध लड्नेहरू
भित्र भित्रै सहिदको नाम केरे, युद्ध लड्ने हरू ।
भन्न त भन्थे देश र जनता मा आमूल परिवर्तन गर्छौ ।
आफ्नै जिन्दगीको काँचुली फेरे, युद्ध लड्ने हरू ।।
---------------------------------------------------------
जिन्दगी भर खुसी भई रमाउन्, नेता बन्नु पर्छ
अपराध गरेर कानुन समाउन, नेता बन्नु पर्छ ।
जागिर गरी मजदुरी गरी ज्यान पाल्नै धौ धौ हुन्छ ।
मोज गर्न अरबौँ कमाउन, नेता बन्नु पर्छ ।।