
रुकुम पूर्वको सिस्ने गाउँपालिकाले आफुसंग रहेका ५ वटा सिलिण्डर जिल्ला अस्पताल रुकुम पश्चिमलाई सहयोग गरेको छ । जिल्ला अस्पतालमा अक्सिजनको अभाव भएपछि गाउँपालिकाले आज विहान ५० लिटरका ५ वटा अक्सिजन पठाएको हो ।अक्सिजन अभाव भएको भन्दै अस्पताल र मुसीकोट नगरपालिकाका प्रमुख देविलाल गौतमले गाउँपालिकासंग सहयोग मागेपछि ५ वटा अक्सिजन सिलिण्डर पठाईएको सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले जानकारी दिनुभयो ।
‘अक्सिजनको अभाव भयो, अहिलेलाई गाउँपालिकामा भएको अक्सिजन पठाईदिनुपर्यो भन्नुभयो, गाउँपालिकामा भएका मध्य ५ वटा ठुला सिलिण्डर पठाएका छौं, अध्यक्ष बरालले भन्नुभयो ।’ गाउँपालिकासंग १२ वटा ठुला ५० लिटरका र १० वटा साना १० लिटरका सिलिण्डर थिए । रुकुम पश्चिममा संक्रमितहरुको दर उच्च रहेको र त्यसमा पनि अक्सिजन चढाउनुपर्ने बिरामिको संख्या धेरै रहेपछि जिल्ला अस्पतालमा अक्सिजन अभाव रहेको छ ।
जिल्लामा अक्सिजन प्लान्ट नभएको र सिलिण्डर रिफिलका लागि नेपालगञ्ज पठाउनुपर्ने भएकाले ढिलाई हुँदा समस्या भइरहेको अस्पताल स्रोतले बताएको छ । खाली सिलिण्डर नेपालगञ्ज लैजानुपर्ने र त्यहाँबाट रिफिल गरेर जिल्लामा पुर्याउदा धेरै समय लाग्ने भएकाले बिरामिहरुलाई अक्सिजनको व्यवस्थापन गर्न ढिलाई भइरहेको अस्पतालको भनाई छ । हाइफ्लो अक्सिजन चढाउनुपर्दा थोरै समयमा पनि धेरै अक्सिजन खपत हुने गरेको छ ।