रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा विपद् पूर्व तयारी प्रतिकार्य योजनाको अन्तिम मस्यौदामा छलफल गरिएको छ । आज पालिकाको सभा हल खारानेटामा विपत् पूर्व तयारी प्रतिकार्य योजनाको अन्तिम मस्यौदामा छलफल गरिएको हो । युनिसेफ नेपाल, समाज जागरण केन्द्र स्याक नेपालको आर्थिक तथा प्राविधिक सहयोग र त्रिवेणी गाउँपालिकाको आयोजनामा विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनाको अन्तिम मस्यौदामा छलफल तथा वास रिकभरी परियोजनाको प्रगति तथा समीक्षात्मक बैठक सम्पन्न भएको त्रिवेणी गाउँपालिका विपद् फोकल पर्सन खिमबहादुर ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार समीक्षात्मक बैठकमा समाज जागरण केन्द्र स्याक नेपालका परियोजना अधिकृत शेरबहादुर ओलीले परियोजनाको विषयमा स्पष्ट पार्नुभएको थियो । त्यस्तै विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनाको अन्तिम मस्यौदाको विषयमा युनिसेफका परामर्शदाता विकिरण गौतमले जानकारी गराउनुभएको थियो । बैठकले विपद् पूर्व तयारी प्रतिकार्य योजना (डिपीआरपी) लाई प्रमाणीकरण गर्ने निर्णय गर्दै आगामी कार्यकालको बैठकबाट पारित गर्ने निर्णय समेत गरेको फोकल पर्सन ओलीले जानकारी दिनुभयो ।
जस अन्तर्गत विपद् पूर्व तयारी प्रतिकार्य योजना (डिपीआरपी) लाई गाउँपालिकाको वेबसाइटमा राख्ने र आवश्यक प्रति प्रकाशन गर्ने समेत निर्णय भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष गणेशकुमार केसीको अध्यक्षतामा भएको बैठकमा गाउँपालिकाका उपाध्यक्ष राजकुमारी रेउले र प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर भण्डारीको आतिथ्यता रहेको थियो । त्यस्तै समीक्षात्मक बैठकमा १० वटा वडाका वडाध्यक्षहरू, गाउँ कार्यपालिका सदस्यहरू, विषयगत शाखाका प्रमुखहरूको उपस्थिति रहेको थियो ।





-1759842583.jpg)