Kakhara सबैको खबर सम्पूर्ण खबर
कविताः  मखमली माया आमा !

आमा,
जीवन के रै छ र ?
अक्सिजन सिलिन्डर छेउ
तिमीलाई न अघाइन्जेल
हेरिरहेको थिए
एक टकले !
तिमीले पनि हेरिरहेकी थियौ
थाहा छैन, आमा
एउटा लामो सास
अनि फेरि फेर्छौ कि
मेरो आस
पूरा भएन !
नि: शब्द
संवादहीन
सन्नाटा ..
चिनारी मेटियो
तिम्रो र मेरो !

सबका सब आमा झैँ
तिमी पनि मेरी
महान् आमा,
सुतिरहेको मेरो ठाउँ आइ
कपाल सुमसुम्याउँदै
सखारै दूध बेच्न बजार,
सदैवको  दैनिकी
हाम्रो भेट बाटामा
तिमी फर्कने
अनि त्यही सहर पढ्न !
मलाई आजै जस्तो लाग्छ
आमा ..
दूधको हिसाबमा
औला तिमीले भाँचिरहँदा
भानु स्कुलको चौरमा
हेड सर आइ
तिम्रो छोरो
फस्ट आएको खबर सुनाको
तिमी कम्ती खुसी थियौ नि आमा !?
कलसाउरो तिम्रो अनुहार
धपक्क बलेको
मैले त्यही बेला हो देखेको !

बसको लास्ट सिटमा बसी,
झ्याल तिर नियाल्दै
यी घर, यी रुख आदि
किन घुमिरहन्छन् आमा ?
जवाफमा
दूध बोकेको झोला पछाडि फाल्दै
पछि पढे पछि थाहा हुन्छ
भनेकी थियौ आमा !
म बढे हुर्के पढे
तिम्रै सामीप्यतामा
आज यी सब त्यही छन्
ती रुख त्यसरी नै  घुमिरहन्छन्
कहिलेकाहीँ,
अटोमा
आमासँगै छेउमा बसिरहेको कोही  वालक देख्छु
तिमीलाई बेजोड सम्झन्छु आमा,
ती वालकले पनि रुख घुमेको देखे कि  नै ?
आफ्नी आमालाई सोधे कि नाइँ ?
फेरि जवाफ के पायो कुन्नि ?!

सब थोक न थाहा पाकै राम्रो
आमा,  
थाहा पाएर निको नहुने व्यथा
अथाह व्यथा हुँदो रैछ !?
तिमीलाई दुख्छ कि भनेर
तिम्रो ए-रे मोड्न
डर लाग्थ्यो हिजो
भित्तामा झुन्डाइएका छातीका ए-रेले
तिम्रो छाती चली रहेको
महसुस गराउँछ
हिजो आज आमा !

तिमी बिना त्  आमा
अपुरो छ मेरो जीवन
मेरो यात्रा, मेरो  उत्सव
खैर,
समालिनु छ !
तिमीसँग अन्तिम बिदा गर्न
देवघाट त्रिवेणी
समुन्द्र छेउ पुग्दा
प्रण गरेको छु आमा,
यो सागरको पानी जस्तै
तिमीसँगको माया कहिल्यै सुक्ने छैन,    
तिम्रो सम्झना हरेक छाल बनी
मलाई स्पर्श गरिरहने छन् ,
तिम्रो आशीर्वाद सधैँ मसँगै रहनेछ !
मखमली माया
मेरी प्यारी आमा ,
नाम झैँ
तुलसी बनेर अमर रहनु !!   ५     

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  ०८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update